एमाले लुम्बिनी प्रदेशलाई नेपालगञ्जका लागि मेयर पशुपतिदयाल र उपमेयर ढकाल सिफारिस

काेहलपुर ।

नेकपा एमालेबाट नेपालगञ्ज उपमहानगरपालिकाका लागि आसन्न स्थानीय तह निर्वाचन लक्षित नगर प्रमुख–उपप्रमुखमा सर्वसम्मत् रुपमा पार्टीका केन्द्रीय सदस्यद्वय पशुपतिदयाल मिश्र र शान्ति ढकालको मात्र नाम सिफारिस भएको पार्टी प्रदेश कमिटीले जनाएको छ ।

एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले जिल्लाको सिफारिस अनुसार केन्द्रीय सदस्यद्वयको नाम सिफारिस भई आए अनुसार नै सिफारिस गरेको स्पष्ट पारे । उनले भने–‘ जिल्लाबाट आएको नाम नै सिफारिसमा परेको छ । जिल्लाबाट एक जनाको मात्र नाम आएको छ ।’

यद्यपी पार्टी सचिव लक्ष्मण आचार्यले बिहीबार नेपालगञ्ज उपमहानगरको प्रमुखको लागि दुईजनाको नाम सिफरिस भएको भन्ने बताएका थिए । शुक्रबार बिहान पटक–पटक टेलिफोन सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

एमाले बाँके जिल्ला कमिटी, नेपालगञ्ज उपमहानगर कमिटी, जिल्लाका पदाधिकारी र जिल्लामा रहेका ५ जना केन्द्रीय कमिटी सदस्यकोे बैठकले मिश्रको एकल नाममा मात्र सिफारिस गर्ने निर्णय भएको र सोहो आसएको पत्र बोकेर प्रदेशको बैठकमा बाँके अध्यक्ष किस्मतकुमार कक्षपति गएका थिए । यो विषयमा कुरा गर्न गरिएको फोन कक्षपतिले उठाएनन ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज सूर्य ढकालले पनि जिल्लाबाट गएको नाम अनुसार नै एक जनाको मात्रै नाम सिफरिस भएको

बताए । उनले भने–‘ भ्रममा कोई पनि नपर्दा हुन्छ । पार्टीको नगर कमिटीको बैठक, जिल्ला कमिटीको बैठक, जिल्ला कमिटीको पदाधिकारी र जिल्लाका केन्द्रीय सदस्यहरुको बैठकले समेत सर्वसम्मतरुपमा पशुपतिजी र शान्तिजीको नाम पठाएको हो ।’

नेपालगञ्ज उपमहानगरमा एमालेबाट मेयरका लागि मिश्र, कृष्णप्रसाद श्रेष्ठ, रविन्द्र लम्साल र दत्तप्रसाद आचार्य आकांक्षि थिए । यी मध्ये नगरकमिटीका अध्यक्ष समेत रहेका आचार्यले आफ्नो नाम आफ्नै कमिटीबाट पठाउन सकेनन् ।

यसैगरी उप प्रमुखमा शान्ति ढकाल, मिना ढकाल, कृष्णा पाठक, सरस्वती मल्ल र रचना श्रेष्ठ आकाँक्षि रहेका थिए । शान्तिका लागि रचना र पाठकले समर्थन गरेपछि सर्वसम्मत रुपमा शान्तिको नाम पठाएको जनाईएको छ ।

सिफारिस हेर्नुहाेस् ।