बाँकेमा ‘खोज पत्रकारिता’ तालिम सुरू

काेहलपुर ।

पत्रकारहरुको क्षमता बृद्धिका लागि बाँकेमा खोज पत्रकारिता तालिम सञ्चालन गरिएको छ ।

नेपाल पत्रकार महासंघ बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा पाँच दिने खोज पत्रकारिता तालिम सुरु भएकाे हाे । नेपालगञ्ज उप-महानगरका प्रवक्ता तथा नेपालगञ्ज १ का वडाध्यक्ष प्रमोद रिजालले उद्घाटन गर्दै पत्रकारहरुको विकास तथा प्रवद्र्धनका लागि पालिकाले विभिन्न शिर्षकहरुमा सहयोग गर्दै आईरहेको र आगामी दिनहरुमा पनि महासंघसंग सहकार्य गरेर अगाडी बढने बताएका छन ।

यस्तै, महासंघका अध्यक्ष दामोदर भण्डारीले आगामी दिनहरुमा पनि बिधागत तालिम, रिर्पोटिङ क्रममा सुरक्षा सम्बन्धि तालिम, आर्थिक रिर्पोटिङ सम्बन्धि तालिम, लगायतका बिषयगत तालिम आयोजना गर्ने तयारीमा समेत रहेको जानकारी दिनुभयो ।

यस अघि पनि नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा महासंघले एक महिने आधारभूत पत्रकारिता तालिम संचालन गरिसकेको छ ।

पाँच दिन सम्म संचालन रह्ने उक्त तालिममा पत्रकारितामा दक्ष प्राप्त राष्ट्रिय स्तरका बिभिन्न प्रशिक्षकहरुले प्रशिक्षण गर्नुहुनेछ । खोज पत्रकारिता केन्द्र नेपालका सम्पादक किरण नेपाल, नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष धर्मेन्द्र झा र नेपाल लाइभ डटकमका सम्पादक रामेश्वर बोहराले तालिम सहजीकरण गर्नुहुने महासंघका सचिव कमल ढांगीले जानकारी दिनुभयो । खोज पत्रकारिता तालिममा बाँकेका २५ जना पत्रकारहरू सहभागिता रहेका छन ।