सम्मान गर्ने निहुँमा एमालेले ९६ वर्षका बृद्धलाई झुक्याएर पार्टी प्रवेश गराएको खुलासा

सम्मान गर्ने भनि एमालेको कार्यक्रममा सहभागी गराइएका ९६ वर्षका बृद्ध खर्कु ओली ।

तपाईका वडा, टोल तथा छिमेकमा एमालेले कुनै कार्यक्रम गर्दैछ, भने सावधान हुनु होला है । तपाईलाई कतै झुक्याएर पार्टी प्रवेश गराउँलान् नि । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर २ मदुवामा एमालेका नेता तथा कार्यकर्ताले गाउँका एक जना बयोबृद्धलाई झुक्याएर पार्टी प्रवेश गराएको तथ्य खुलेको छ ।

मदुवा निवासी ९६ वर्षका बृद्ध खर्कु ओली जन्मजात कांग्रेस हुन् । उनी र उनका छोरा हुँदै नाती पुस्तासम्म अहिले सम्म नेपाली कांग्रेसमा छन् । आसन्न निर्वाचनलाई लक्षित गरेर एमालेले मदुवास्थित पिपल चौतारामा आइतबार पार्टीको कार्यक्रम राखेको थियो । यि बृद्ध दिउँसोको समयमा प्रायः सोही पिपल चौतारामा गएर समय बिताउने गर्छन् ।

पिपल चौतारामा गएर बसेका बृद्धलाई एमाले नेता, कार्यकर्ताले सुरुमा ‘बाजे तपाईलाई सम्मान गर्छौ, अलि नजिक आएर बस्नुस्’ भन्दै झुक्याएर टिका लगाईदिएको र पछि उनलाई कांगे्रस परित्याग गरेर एमालेमा प्रवेश गरेको भनि माईकिङ गरेको छोरा प्रेम ओलीले सुनाए । ‘हाम्रो बुवा दिउँसोतिर प्रायः पिपल चौतारातिर गएर बस्नु हुन्छ, त्यही चौतारामा एमालेको कार्यक्रम रहेछ, म त्यसदिन घरमा थिएन,’ उनले भने ‘राम्ररी आँखा नदेख्ने र कान नसुन्ने मेरो बुवालाई सम्मान गर्छौ भनेर झुक्याई पार्टी प्रवेश गरेको भनि अपमान गरियो ।’

मर्ने उमेरमा कांग्रेसको झण्डा ओढ्ने बेलामा आफुलाई झुक्याएर पार्टी प्रवेश गराएको थाहा पाएपछि आफ्ना पिता निराश भएको छोरा प्रेमले बताए । ‘यो कुरा थाहा पाएपछि बुवाले एकदमै दुःख मान्नु भएको छ, मर्ने बेलामा मलाई किन यसरी झुक्याएर टिका लगाईदिए, किन मेरो बेइज्जत गरिदिए भनेर चिन्ता मान्नु भएको छ,’ उनले भने ।

एमालेको उक्त कार्यक्रममा केन्द्रीय सदस्य सुर्य ढकाल लगायत स्थानीय नेता, कार्यकर्ता उपस्थित भएका थिए । ९६ वर्षका आफ्ना हजुर बुवाले मर्ने बेलामा कांग्रेस परित्याग गर्ने कल्पना समेत नगरेको अवस्थामा एमालेले झुक्याएर प्रवेश गराएर ठुलो अपमान गरेको उनका नाती समेत रहेका कांग्रेसका युवा नेता प्रकाश ओलीले बताए ।

‘यो एकदमै गलत कार्य हो, यसले उहाँहरु (एमाले नेता कार्यकर्ता) लाई पक्कैपनि राम्रो हुने छैन,’ उनले भने । आफ्ना हजुर बुवा विपी कोइरालाका अनुयायी रहेको र विपीले दिएको टोपीलाई अहिले पनि सुरक्षितसँग राखेको प्रकाशले बताए । ‘मेरो बाजे जन्मजात कांग्रेस हुनुहुन्छ, उहाँ कांग्रेस भएका कारण हाम्रो रगत रगतमा कांग्रेस छ,’ उनले भने । ढल्किदो उमेरमा हजुर बुवाको अपमान हुँदा आफुहरुलाई पनि दुःख लागेको बताए ।