सांसद साहमाथि एमाले कार्यकर्ताले आक्रमण

काेहलपुर ।

जनता समाजवादी पार्टी नेपालले आफ्ना पार्टीका नेता नेता प्रमोद साहमाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ । आज बिहान सर्लाही, ईश्वरपुर नगरपालिका बयलबास बजारमा बाटो निर्माणको सम्बन्धमा भएको विवादमा सांसद साहमाथि आक्रमण भएको थियो । आक्रमणमा परी उनी घाइते भएका छन् । जसपाले आज एक विज्ञप्ति जारी गरी एमालेका कार्यकर्ताहरूले पार्टीका केन्द्रीय सदस्य एवं संसदीय दलका प्रमुख सचेतक प्रमोद साहलाई साङ्घातिक हमला गरी गम्भीर घाइते बनाएको आरोप लगाएको छ ।

पार्टी कामको सिलसिलामा गृह जिल्ला पुगेका साहमाथि सुनियोजित ढङ्गबाट आक्रमण गरी घटना गराएको र त्यसबाट साहलाई लगायत अन्य नेता तथा कार्यकर्ता घाइते भएको जसपाले दाबी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘एमालेले यस्ता घृणित र आपराधिक क्रियाकलाप बन्द नगरे यसबाट उत्पन्न हुने परिणामको जिम्मेवार स्वयं एमाले हुनेछ ।’ घटनाका दोषीमाथि कडाभन्दा कडा कारबाही गर्न तथा शान्ति सुरक्षाको प्रत्याभूति हुने गरी काम गर्न जसपाले माग गरेको छ । साथै उनीहरूको स्वास्थ्य उपचारको व्यवस्था मिलाउन पनि माग गरेको छ ।