सपुतको नयाँ गीत ‘पिर’ विवादमा, माओवादी केन्द्रद्वारा सपुतलाई गीत हटाउन चेतावनी

प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । माओवादी जनयुद्धमा सहभागी जनमुक्ति सेनाको अपमान गरेको भन्‍दै सपुतको गीत विवादमा तानिएको हो ।

तत्कालिन जनयुद्धमा सहभागी प्राय र हाल नेकपा माओवादी केन्द्रका नेता/कार्यकर्ताहरूले सपुतको गीतको विरोध जनाएका छन् । कतिपयले हटाउन चेतावनी दिएका छन् ।

माओवादी कार्यकर्ताहरू सपुतको पुरै गीतमा विरोध गरेका होइनन् । गीतको ९ मिनेटदेखि १० मिनेट १० सेकेण्डसम्‍मको भिडियोमा माओवादी कार्यकर्ताहरूले आपत्ति जनाएका हुन् । ९ मिनेटदेखि १० मिनेट १० सेकेण्डसम्‍मको भिडियोमा जनयुद्धमा होमिएकी महिला देहव्यापारमा लागेको देखाइएको छ, त्यसैमा माओवादी कार्यकर्ताहरूले विरोध गरेका हुन् ।

एउटी महिला छापामारले अभावमा देहव्यापारमा लागेको जसरी चित्र गरिएको त्यसले समग्र जनयुद्ध लडेका महिलाहरूको अपमान भएको माओवादी कार्यकर्ताहरूको बुझाइ छ ।

पूर्वजनमुक्ति सेनाकी कमाण्डर तथा हाल सांसद रहेकी कमला रोकाले गीत रचना र छायांकन गर्न सबैलाई छुट भएको तर तर तथ्यलाई बंग्याएर भ्रामक र गलत रुपमा प्रस्तु गर्न कसैलाई छुट नभएको बताइन् । उक्त गीतमा देखाइएको भिडियोले जनयुद्धमा सहभागी महिलाको अपमान भएको बताउँछिन् ।

ति महिलाहरूले जनयुद्ध नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क सङ्गीत भरेर उन्मुक्त गुनगुनाउन नसक्ने माओवादीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखा बताउँछन् । सापकोटाले सपुतलाई प्रश्न गरेका छन् ‘अभाव, निराश अनि गरिब महिलाहरूले देह व्यापार नै गर्छन् हो ?’

‘जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारुन् !’ सापकोटाले भनेका छन् `पिर’को परिकल्पनाको समग्र पक्षप्रति राजनीतिक कोण नबनाऊ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले `देह’ व्यापारमा लगेर जसरी चित्रण गरेका छन्- त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ ।’

नेकपा माओवादी केन्द्रसम्बद्ध अनेरास्ववियू क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले सपुतलाई गीत हटाउन चेतावनी नै दिएकी छिन् । उनले सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट गीत नहटाए गैरजिम्मेवार हर्कत सहेर नबस्ने बताएकी छन् ।

‘महान् जनयुद्धको कारण केही थान मन्त्रीहरू ,माननीयहरू र टाठा बाठाहरूको जीवन बदलिएको र जनमुक्ति सेना नेपाल र आम कार्यकर्ताको व्यवस्थापन हुन नसकेको भन्‍ने बहस जरुर रूपमा छ । सहिद परिवार बेपत्ता परिवार, पूर्व जनमुक्ति सेना नेपाल, जनयुद्धमा सहभागी आम कार्यकर्ताको व्यवस्थापनमा नेतृत्व बेखबर भने छैन । कतिपय प्रयत्न हरू सफल हुन सकेका छैनन्’ उनले सामाजिक सञ्जालमा लेखेकी छन् ‘व्यवस्थापनमा केही नभएको भन्‍ने पनि होइन विभिन्‍न तहमा प्रयत्नहरू भइरहेका पनि छन् तर व्यवस्थापन हुन नसकेका जटिलताहरू देखाएर जनयुद्धमा सहभागी महिलाहरू शरीर बेच्ने काममा संलग्न भएको भन्‍ने सन्देश दिने गरी प्रकाश सपूत जीले युट्युबमा अपलोड गरिएको पिर नामक भिडियो आपत्तिजनक र निन्दनीय छ ।’

‘जनयुद्धकै कारण महिलाले स्वतन्त्रता, न्याय र समानता प्राप्त गरेको राज्यका हरेक निकायमा ३३% प्रतिशत महिला सहभागिता सुनिश्चित भएको कुरा प्रकाश जी तपाईंलाई बुझाइरहन पर्ने हो । जनयुद्ध सहभागी महिलाले तपाईंको पनि स्वतन्त्रता र तपाईंले भोगेको जातीय विभेदविरुद्ध पनि लडेका थिए भन्‍ने कुरा यति चाडै भुल्नु भयो’ सिंहले लेखेकी छन् ‘तिनै दिदीबहिनीहरू माथि अपमान हुने गरी बनाइएको तपाईंको पिर नामक भिडियो सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवार हर्कत सहेर नबस्ने चेतावनी दिन चाहन्छु ।’

‘जसले लडेर यो व्यवस्था निर्माण गर्‍यो उसको अपमान ? कल्पनै गर्न नसकिने कुरा यथार्थ भनेर भनिदिने ? त्यो पनि मित्र प्रकाश जि बाट ? माओवादीका केन्द्रीय सदस्य तथा वाइसीएलका सहसंयोजक सुबोध शेर्पाली प्रश्न गरे ।

‘कथित सिर्जनाको नाममा यथार्थलाई बङ्ग्याएर जनयुद्धको पीडा र यथार्थ नबुझेर तया गरिएको भावले हामी युद्ध लडेका वास्तविकतासँग रमेका योद्धाहरुको घोर अपमान गरेको छ । जनयुद्ध लडेका यो परिवर्तनको लडाईँमा होमिएका हामी थुप्रै अलपत्र नै छौँ । अवसर पाएकाहरु थोरै छन तर उनीहरुले धरातल बिर्सिएका होलान पनि’ शेर्पालीले भनेका छन् ‘यथार्थ कुरा स्वाभिमानमा बाचेका पूर्व जनमुक्ति सेना जो खाडीमा छ देशमै पनि संघर्ष गरेर जीवन बिताइरहेको छ श्रम गरिरहेको छ उसको मानहानी हुने गरि जे बिषयले तपाईंको सिर्जनालाई रंङ्गीन बनाउन खोज्‍नुभयो यो पूर्णरूपमा निन्दनीय एवं आपत्तिजनक छ । त्यसैले प्रकाश जि जनयुद्ध लडेका मात्र हैनन सबै चेलीहरूसँग माफी मागेर हुँदै नभएको विषय हटाएर तपाईँको सिर्जनालाई पस्कनुस् ।

इकागजबाट