विपन्न समुदायका समस्या दीर्घकालीन रुपमै समाधान गरिन्छः गौडेल




कोहलपुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले विपन्न समुदायको समस्या दीर्घकालीन रुपमा समाधानका गरिने प्रतिवद्धता जनाएका छन् ।

सोमवार राप्तीसोनारी गाउँपालिका वडा नं.१ का खोकरी, चुना, लौकी, चप्परगौरी लगायत विभिन्न वस्तीमा घरदैलो गर्ने क्रममा विपन्न समुदायको समस्या भाषण गरेर र प्रतिबद्धता गरेरमात्रै समाधान नहुने भएकाले नीतिगत सुधार गरेर मात्रै सम्वोधन गरिने बताए ।

खासगरी राप्तीपारीका चुना, खोकरी, भवानियापुर, भम्कालगायतका क्षेत्रका नागरिकहरु शिक्षा, स्वास्थ्य तथा आर्थिक विपन्नतासँग जुधिरहेको उल्लेख गर्दैै उनले ती समस्या समाधानका निमित्त आफुले नीतिगत सुधारमा पहल गरिने बताए ।

काँग्रेसको प्रतिज्ञापत्रमा पनि थुप्रै नीतिगत सुधारका विषयहरु उल्लेख गरेको स्मरण गराउँदै उनले अवको काँग्रेसले आर्थिक विपन्नतालाई हटाउनेदेखि शिक्षा र स्वास्थ्यमा सहजता प्रदान गर्ने विश्वास दिलाए । त्यसैले पनि यो पटक काँग्रेसको पक्षमा उभिन उनले सबैलाई आग्रह गरे । भावनामा बगेर देश सम्मुनत नहुँने भन्दै गौडेलले सुझबुझ गरेर मतदान गर्न आग्रह गरे ।

भावना र उत्तेजनाले देशको विकास नहुने भन्दै गौडेलले देशको विकासका लागि नीति सुधार गर्न आवश्यक रहेको बताए । आफु सधैं जनताकै बीचमा बसेर काम गरेको सम्झाउँदै गौडेलले चुनाव जिताएर पठाए पनि आफु गाउँमै बसेर नागरिकको सुखदुःखमासँगै रहने बताए ।

नेपाली काँग्रेस वडा कार्यसमितिको अगुवाइमा भएको घरदैलोमा स्थानीयहरुले शिक्षा, स्वास्थ्य, खानेपानी, जंगली जनावरको आतंक, रोजगारी लगायतका समस्याहरु राखेको वडा सभापति मोहन डाँगीले जानकारी दिए ।

गौडेल पुगेको उक्त क्षेत्र बाँकेको विकट मानिन्छ । स्थानीयहरुले विकास निर्माणका विभिन्न विषयहरु उठान गरेको र त्यसक्रममा गौडेलले सहयोगको प्रतिवद्धता जनाएको स्थानीय नेता रुद्र बहादुर ओलीले जानकारी दिए ।

गौडेल सादगी र इमान्दार नेता भएकाले पनि स्थानीय मतदाताहरु उत्साहित देखिएको र मत गौडेललाई दिने तयारी गरेको ओलीको भनाइ छ । ‘परिवर्तनको हावा चलेको देखिन्छ, ओलीले भने -‘तर गगन कुमार थापाको स्पष्ट भिजन र योजनासहित काँग्रेस बदलिएर आएकाले यो पटक रखमा मतदान गर्नेहरु धेरै छन् ।’

घरदैलो अभियानमा क्षेत्रीय सभापति पोषण केसी, काँग्रेस राप्तिसोनारी गाउँपालिकाका सभापति भिम रानासहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन ११ गते सोमबार