काेहलपुर। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गको यात्रा समय घटाउने निर्णय गरिएको छ। कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्णप्रसाद आचार्यको प्रमुख आतिथ्यमा आज भएको समन्वयात्मक बैठकले निकुञ्ज क्षेत्रमा सवारी आवागमन सहज बनाउँदै यात्रा समय घटाउने निर्णय गरेको हो।
बाँके राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेल, रणध्वज गणका गणपति खिमबहादुर डाँगी, कोहलपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, वडा नम्बर १२ का अध्यक्ष वीरेन्द्र शाहलगायतको उपस्थितिमा भएको बैठकले सो निर्णय गरेको हो।
बैठकले निकुञ्जको सिमानामा पर्ने पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत ओभरी चेकपोस्टदेखि खैरी चेकपोस्टसम्म लगाइएको टाइम कार्डको समयावधि घटाउने निर्णय गरेको छ ।
बाँके राष्ट्रिय निकुञ्ज नियमावली, २०७१ अनुसार ४० किलोमिटर प्रतिघण्टाको दरले १४ दशमलव २ किलोमिटर दूरी पार गर्नुपर्ने समय निर्धारण गरिएकोमा हाल कायम रहेको न्यूनतम २४ देखि अधिकतम २८ मिनेटको समयलाई घटाएर न्यूनतम २१ देखि अधिकतम २४ मिनेट कायम गरिने भएको छ ।
वैज्ञानिक तवरले विश्लेषण गर्दा उक्त दूरी न्यूनतम २१ मिनेटदेखि अधिकतम २४ मिनेटमा पार गर्न सकिने देखिएकाले नयाँ समय लागू गर्ने निर्णय गरिएको अध्यक्ष शाहाले बताए ।
यसैगरी, राजमार्गमा पर्यटन प्रवर्द्धन, मानव वन्यजन्तु सहअस्तित्व तथा सडक दुर्घटना न्यूनीकरणका लागि विभिन्न स्थानमा सूचना बोर्ड, होर्डिङ बोर्ड र साइनपोस्ट स्थापना गर्ने निर्णय गरिएको छ। यसका लागि कोहलपुर नगरपालिका र बाँके राष्ट्रिय निकुञ्जबीच आवश्यक समन्वय तथा सहकार्य गरिने भएको छ।
बैठकले बाँके जिल्लामा पर्यटन प्रवर्द्धन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई ‘ब्रान्डिङ’ गरी प्रचार–प्रसार गर्ने निर्णयसमेत गरेको छ। नेपालगन्ज उपमहानगरपालिकासहित अन्य सरोकारवाला निकायसँग समन्वय गरी जुडुवा नाका, राँझा चोक, नेपालगन्ज विमानस्थल र कोहलपुर चौराह चोकमा ठूला होर्डिङ बोर्ड तथा सूचना बोर्ड राखेर निकुञ्जको प्रचार–प्रसार गर्ने व्यवस्था मिलाइने भएको छ।
बैठकमा निकुञ्ज संरक्षणसँगै पर्यटन प्रवर्द्धन र स्थानीय विकासलाई जोडेर अघि बढ्ने विषयमा समेत छलफल भएको थियो। कोहलपुर नगरपालिका, बाँके राष्ट्रिय निकुञ्ज, नेपाली सेना तथा अन्य सरोकारवाला निकायबीचको समन्वयलाई थप प्रभावकारी बनाउने निर्णय गरिएको छ। बैठकमा सहायक अपरेसन अधिकृत निशान श्रेष्ठ, सफर रेमी, प्रेम चाकी, पर्मला गिरीलगायत रणध्वज गण तथा बाँके राष्ट्रिय निकुञ्जका अधिकारीहरूको समेत सहभागिता थियो।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्