विमानस्थलको चेकजाँचप्रति असन्तुष्ट ओली भन्छन् : म न गँजडी, न जड्याहा




नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई विमानस्थलमा कडा सुरक्षा जाँच गरिएको भन्दै आपत्ति जनाएका छन्। उनले विमानस्थलमा आफूलाई अपराधी वा तस्करजस्तो व्यवहार गरिएको बताएका छन्।

शनिबार इलाम पुगेका ओलीले लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको बैठकलाई सम्बोधन गर्दै विमानस्थलमा मेटल डिटेक्टरबाट पटक–पटक जाँच गर्नुका साथै शरीर खानतलासी गरिएको प्रति असन्तुष्टि जनाएका हुन्।

‘मेटल डिटेक्टर लगाएको छ, यो गर्‍या छ, उ गर्‍या छ। के निकाल्न खोज्या? के बरामद गर्न खोज्या?’ उनले प्रश्न गरे।

काठमाडौं र भद्रपुर विमानस्थलमा पटक–पटक शरीर जाँच गरिनुको साथै एउटा स्थानमा मेटल डिटेक्टरबाट जाँच गरिसकेपछि पुनः अर्को ढोकामा समेत त्यस्तै जाँच गर्ने र त्यसपछि शरीरसमेत छामछुम गरेको बताए।

ओलीले आफू कुनै लागुऔषध सेवन गर्ने व्यक्ति नभएको भन्दै प्रश्न गरे, ‘म न गँजडी, न जड्याहा, न ड्रगिस्ट। के खोज्या हो?’

आफूसँग कुनै अवैध वस्तु नरहेको भन्दै उनले सुनतर्फ संकेत गर्दै भने, ‘न मसँग १९० तोला सुन छ, न कतै लुकाएको केही छ’।

उनले विमानस्थलमा आफूलाई कडा सुरक्षा जाँच गरिने तर सीमा नाकाबाट हुने तस्करी नियन्त्रणमा भने सरकारले प्रभावकारी काम गर्न नसकेको आरोप लगाए। ‘ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइछ। एयरपोर्टमा चाहिँ मेरो शरीरमा डिटेक्टर लगाउँछ,’ ओलीले भने।

विमानस्थलमा पटक–पटक जाँच गरिनुलाई उनले ‘तमासा’को संज्ञा दिँदै सुरक्षा जाँचको शैलीप्रति असन्तुष्टि जनाए। ‘एक ठाउँ जाँचेपछि त पुग्नुपर्ने, फेरि अर्को ठाउँ जाँच गर्छ,’ उनले भने ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन ३१ गते आइतबार