शिवध्वज शाही, नेपालगन्ज | साउन १६, २०८३
स्वर्गीय साहित्यकार प्रेमप्रकाश मल्ल ‘मधुकर’ को ९९औँ जन्मजयन्तीको अवसरमा भेरी साहित्य समाज केन्द्रीय समितिले शनिबार नेपालगन्जस्थित स्वस्तिक कटेज मा ‘स्रष्टा पुरस्कार तथा सम्मान अर्पण समारोह–२०८३’ भव्य रूपमा सम्पन्न गरेको छ।

समाजका अध्यक्ष ईन्द्रबहादुर बस्नेत को अध्यक्षतामा सम्पन्न कार्यक्रममा मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति सहप्राध्यापक डा. राजन सुवाल प्रमुख अतिथि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व सदस्यसचिव एवं त्रिभुवन विश्वविद्यालयका पूर्व डिन प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा प्रेमप्रकाश मल्ल स्मृति प्रतिष्ठानका संस्थापक बखतबहादुर मल्ल, बाणीश्री मल्ल, भेरी साहित्य समाजका सल्लाहकार प्राज्ञ डा. हरिप्रसाद तिमिल्सिना, लुम्बिनी वाङ्मय प्रतिष्ठानका अध्यक्ष भरतबहादुर रानाभाट, वागेश्वरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दानबहादुर हमाल, बबई बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरि जोशी, डा. चक्रप्रसाद उपाध्याय, थानेश्वर लामिछाने, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरका अध्यक्ष एकराज शर्मा, महेन्द्र पुस्तकालय नेपालगन्जका अध्यक्ष बलराम यादव लगायत सात दर्जनभन्दा बढी साहित्यकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि, पत्रकार तथा समाजसेवीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रधान सम्पादक डा. हरिप्रसाद तिमिल्सिनाले नवप्रकाशित ‘प्रेमप्रकाश मल्ल ‘मधुकर’ रचनावली’ तथा सम्मानित स्रष्टाको परिचर्चा प्रस्तुत गरेका थिए भने भेरी साहित्य समाजका वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिजालले मधुकरका गीतहरूको साहित्यिक विश्लेषण गरेका थिए। सोही अवसरमा ‘प्रेमप्रकाश मल्ल ‘मधुकर’ रचनावली’ को औपचारिक विमोचन समेत गरिएको थियो।
यस अवसरमा प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ लाई दोसल्ला, सम्मानपत्र तथा रु. ५१ हजार १५१ नगद राशिसहित सम्मान गरिएको थियो। सम्मान प्रमुख अतिथि डा. राजन सुवाल र कार्यक्रमका अध्यक्ष ईन्द्रबहादुर बस्नेत ले संयुक्त रूपमा प्रदान गरेका थिए।
प्रमुख अतिथि डा. राजन सुवालले साहित्य कुनै पनि समाजको चेतना, संस्कृति र सभ्यताको दर्पण भएको उल्लेख गर्दै प्रेमप्रकाश मल्ल ‘मधुकर’ ले आफ्नो सिर्जनामार्फत नेपाली साहित्यलाई अमूल्य योगदान दिएको बताए।

उनले विश्वविद्यालय र साहित्यिक संस्थाबीच सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिँदै यस्ता रचनावलीहरूले नयाँ पुस्तालाई अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरे। साहित्यकारहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले मधुकरको रचनावली प्रकाशनलाई ऐतिहासिक उपलब्धिको रूपमा प्रशंसा गरे।
विशिष्ट अतिथि प्रा. जगत उपाध्याय ‘प्रेक्षित’ ले प्रेमप्रकाश मल्ल ‘मधुकर’ नेपाली साहित्यका समर्पित र बहुआयामिक स्रष्टा भएको उल्लेख गर्दै उनका सिर्जनाले समाज, संस्कृति र मानवीय संवेदनालाई गहिरो रूपमा उजागर गरेको बताए।

उनले रचनावली प्रकाशनले मधुकरका साहित्यिक योगदानलाई भावी पुस्तासम्म सुरक्षित रूपमा पुर्याउने विश्वास व्यक्त गर्दै साहित्यकारहरूको कृतिको संरक्षण र अनुसन्धानमा सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको धारणा राखे।कार्यक्रमको अन्त्यमा अध्यक्ष ईन्द्रबहादुर बस्नेतले सम्पूर्ण अतिथि, साहित्यकार, सहयोगी संस्था तथा सहभागीप्रति धन्यवाद ज्ञापन गर्दै भेरी साहित्य समाजले आगामी दिनमा पनि साहित्यिक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।


















प्रतिक्रिया दिनुहोस्