स्वास्थ्य र शिक्षा गुणस्तरीय हुनुपर्छ : पूर्व मन्त्री थापा




कोहलपुर ।

स्वास्थ्य र शिक्षा गुणस्तरीय र सर्वसुलभ हुनुपर्ने पूर्व स्वास्थ्य मन्त्री गगन कुमार थापाले बताए । शनिबार बाँकेको कोहलपुर नगरपालिका–१५ अकलघरुवामा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र र अपाङ्ग बाल अस्पताल पुनःस्थापना केन्द्रको उद्घाटन कार्यक्रममा यस्तो बताएका हुन् । ‘म स्वास्थ्य मन्त्री हुँदा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारणा अघि सारेको हुँ उनले भने–‘यसका तीन वटा लक्ष्य छ । पहिलो रोगको पहिचान गर्ने, दोस्रो जनतासँग मिलेर रोग रोकथामको काम गर्ने र तेस्रो उपचार ।’

नगर स्वास्थ्य प्रवद्र्धन केन्द्रको अवधारण भनेकै केन्द्र घर-घरमा पुगेर जनताको स्वास्थ्य अवस्थाबारे जानकारी लिने, रोग लाग्नुभन्दा पहिल्यैं अपनाउन सकिने सजगताबारे जानकारी प्रवाह गर्ने र उपचारको पहुँच नभएकालाई पहुँचमा ल्याउने रहेको पूर्वमन्त्री थापाको भनाइ थियो । उनले प्रवद्र्धन केन्द्रको सेवा प्रवाहलाई थप प्रभावकारी कसरी गराउन सकिन्छ ? भन्ने बारेमा आफ्नो टिमले सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै अपांगता भएका बालबालिकाहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रले ठूलो मानविय सेवा गरेको भन्दै प्रशंसा गरे । विपन्न समुदायका र त्यसमा पनि अपाङ्गता भएका बालबालिकाहरुको पहिचान गरी उनीहरुलाई उपचार गरेर समाजमा पुनःस्थापना गर्नु निकै ठूलो काम भएको छ, कोहलपुरमा केन्द्र संचालनपछि लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अपाङ्गता भएका बालबालिकाहरुलाई उपचारमा निकै सहयोग पुग्ने पूर्वमन्त्री थापाले बताए ।

यस्तै लुम्बिनी प्रदेश सभा सदस्य सञ्जु कुमारी चौधरीले थारु समुदायमा सिकलसेल र थालेसेमियाका बिरामीको उपचारलाई निःशुल्क गरिनुपर्ने बताइन् । ‘सिकलसेलका बिरामीलाई सरकारले उपचार खर्च भनेर १ लाख रुपैयाँ दिने गरेको छ । तर थालेसेमियाका बिरामीलाई भने सरकारले राहात नदिएको भन्दै गुनासो पोखेकी थिइन् । पूर्वमन्त्री थापालाई ध्यानाकर्षण गराउँदै, लुम्बिनी प्रदेश सभा सदस्य चौधरीले थारु समुदायलाई बढी प्रभाव पार्ने थालेसेमिया रोगका बिरामीलाई पनि सरकारले उपचार खर्च दिनुपर्छ त्यसको लागि नीतिगत रुपमा पहल गरिदिन आग्रह गरेकी थिइन् ।

यस्तै लुम्विनी प्रदेश सभा सदस्य बसन्ती अधिकारीले पनि स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन आवश्यक रहेको बताइन् ।

यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरपालिकाले स्वास्थ्य र शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए । ‘स्वस्थ व्यक्तिबाट मात्रै विकास सम्भव छ त्यसैले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने गरी काम गरिरहेका छौं’ उनले भने ।

यस्तै कार्यक्रममा नेपाली काँग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका निर्देशक डा.विवेक बास्कोटा, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकाल, कोहलपुर नगरपालिका–१५ का वडा अध्यक्ष दिपेन्द्र चौधरी, अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका सूचना अधिकृत बिनिता खड्का लगायतले आफ्ना भनाई राखेका थिए ।

उद्घाटन कार्यक्रममा प्रवद्र्धन केन्द्र र अस्पताललाई जग्गा दान गर्ने जग्गादाता स्वर्गीय पुन्सी थारुको अर्धकट्टीको शालिकको समेत पूर्वमन्त्री थापाले अनावरण गरेका थिए । स्वर्गीय थारुले १० कठ्ठा जग्गा दान गरेका थिए ।

कार्यक्रममा जग्गादाताका परिवार सदस्यहरुलाई समेत सम्मानित गरिएको थियो । केन्द्र स्थापनाका लागि विशेष योगदान पुर्‍याएको भन्दै पूर्व जनप्रतिनिधिहरु पतिराम थारु, गुत्तु थारु, लौटन थारु, हरिराम थारु, राम लौटन यादव, राम मिलन तमौली र हुसेनी बस्फोरले कदरपत्रले सम्मानित गरिएको नगर प्रवक्ता नमबहादुर आलेले बताए ।

नगर उपप्रमुख संगिता सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन भने सो कार्यक्रमको सञ्चालन भने प्रेस संयोजक प्रियास्मृति ढकालले गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ चैत १८ गते शनिबार