भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सघाएको आरोपमा वडाध्यक्षसहित चारजना पक्राउ




रूपन्देही । भारतीय नागरिकलाई नेपाली नागरिकता प्राप्त गर्न सघाएको आरोपमा दाङको राजपुर गाउँपालिका–४ का वडाध्यक्षसहित चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजपुर गाउँपालिका–४ का वडाध्यक्ष रामेश्वर अहिर रहेका छन् । उनले भारतीय नागरिक आलम जोल्हालाई आफ्नो वडाको स्थानीय बासिन्दा भएको भनी सिफारिस प्रदान गरी नेपाली नागरिकता बनाउन सहयोग गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

उक्त प्रकरणमा इलाका प्रहरी कार्यालय गढवाले वडाध्यक्ष अहिरसहित चारजनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार पक्राउ पर्ने अन्यमा भारतीय नागरिक ४४ वर्षिय आलम जोल्हा, राजपुर गाउँपालिका–४ का वडासचिव राजकुमार कहार तथा कार्यालय सहयोगी मिना चौधरी रहेका छन् ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक डबलबहादुर बमका अनुसार पक्राउ परेका चारैजना विरुद्ध नागरिकतासम्बन्धी कसुरमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार