राप्तीसोनारीमा गौडेलको घरदैलो तीव्र




कोहलपुर । नेपाली काँग्रेसका तर्फबाट बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी क्षेत्रमा घरदैलो अभियान तीव्र पारेका छन् । नेपाली काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले शुक्रबार बिहान राप्तीसोनारी गाउँपालिका वडा नं. ८ र ९ का विभिन्न बस्तीमा पुगेर मतदातासँग भेटघाट गरेका हुन् ।

घरदैलो कार्यक्रमअन्तर्गत वडा नं. ८ का बालापुर, ओभरी, पेरानी र धर्मोती तथा वडा नं. ९ का ढकेरी, नयाँ गाउँ, गुरुवा गाउँ र बुचापुर लगायतका बस्तीमा पुगेर स्थानीयका समस्या सुन्ने र आफ्ना प्रतिवद्धता सुनाउने काम गरेका छन् । घरदैलोमा पुगेका गौडेललाई स्थानीयले फुलमालासहित स्वागत गरेका थिए । स्थानीय बासिन्दाले भने आफ्ना टोल–बस्तीका विविध समस्याहरु खुलस्त रुपमा राखेका थिए ।

बालापुरका बासिन्दाले विशेषगरी बाँके राष्ट्रिय निकुञ्जका कारण भोग्नुपरेका समस्याबारे ध्यानाकर्षण गराएका थिए । उनीहरुले वन्यजन्तुको आक्रमणबाट हुने जनधनको क्षति, सडक तथा नाला निर्माणको आवश्यकता, भूमिहीन समस्या लगायतका विषय उठाएका थिए ।

स्थानीय मानबहादुर खड्काले निकुञ्ज क्षेत्र नजिकै बसोबास गर्ने नागरिकले महिनौँपिच्छे बाघ तथा चितुवाको आक्रमण झेल्नुपरेको गुनासो गरे । “वन्यजन्तु संरक्षणका नाममा हामीले ज्यान गुमाउनुपर्ने ? यो कस्तो न्याय हो ?” भन्दै उनले दीर्घकालीन समाधानका लागि पहल गर्न माग गरे ।

अर्का स्थानीय मोहन गौतमले खेतबारीमा काम गर्ने किसान, दाउरा–घाँस संकलन गर्न जाने महिला तथा विद्यालय जाने बालबालिकासमेत वन्यजन्तु आक्रमणबाट त्रसित रहेको बताए । त्यस्तै, भूमिहीन समस्या पनि स्थानीयको प्रमुख सरोकारका रूपमा देखिएको छ । स्थानीय प्रेमा कुमारी कुसारीले “जग्गा छ तर लालपूर्जा छैन, अब यो समस्या नारामा सीमित राखेर हुँदैन, समाधान गरिदिनुपर्छ ” उनले भनिन् ।

घरदैलोका क्रममा उम्मेदवार गौडेलले स्थानीयका समस्या ध्यानपूर्वक सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । निकुञ्जसम्बन्धी समस्या कानुनी प्रक्रियामार्फत समाधान गर्नुपर्ने उल्लेख गर्दै उनले हाल प्रचलनमा रहेको वन्यजन्तु संरक्षण ऐन, २०२९ समयसापेक्ष नभएको बताए ।

“वन्यजन्तु संरक्षण ऐन संशोधन गरी जनमुखी र सुरक्षामैत्री बनाउन आवश्यक छ । संरक्षण र मानव सुरक्षाबीच सन्तुलन कायम गर्न कानुनी तथा संरचनागत सुधार अपरिहार्य भइसकेको छ,” उनले भने, “संसदमा पुगेपछि यस विषयमा आवश्यक पहल गर्नेछु ।”

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन ८ गते शुक्रबार