
बैजनाथ । बैजनाथ गाउँपालिकामा चौथो उप–प्रमुख कप बैजनाथ गाउँपालिका स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को भोली देखि सुरु हुन लागेको छ ।
शनिबार बैजनाथ गाउँपालिका–६ लालपुरस्थित गाउँपालिका स्तरीय रंगशालामा आयोजित पत्रकार सम्मेलनमार्फत खेलकुद विकास समितिको आयोजनामा चौथो उप–प्रमुख कप, पालिका स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता सुरु हुन लागेको हो । प्रतियोगिता भोली (माघ ४ गते) विहान ११ बजेदेखिबाट सुरु हुनेछ ।
गाउँपालिका अध्यक्ष शाहीले विद्यार्थीमा खेलकुदप्रतिको रुचि अभिवृद्धि गर्न, प्रतिभा पहिचान गर्न तथा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण गर्न प्रतियोगिता प्रभावकारी हुने बताए ।
प्रतियोगितामा आधारभूत तहतर्फ छात्रा १४९ र छात्र १४८ गरी कुल २९७ जना विद्यार्थी खेलाडी सहभागी हुनेछन् र आधारभूत तहमा १०० मिटर दौड, ४×१०० मिटर रिले दौड तथा लङ जम्प प्रतियोगिता हुनेछ । त्यसैगरी माध्यमिक तहतर्फ एथलेटिक्स अन्तर्गत १००, २००, ४००, ८००, १५०० र ३००० मिटर दौड, ४×१०० तथा ४×४०० रिले दौड, लङ जम्प, सटपुट, ज्याब्लिन र ट्रिपल जम्प खेल सञ्चालन हुनेछ ।
मार्सल आट्र्सतर्फ तेक्वान्दो र करातेका विभिन्न तौल समूहमा छात्र तथा छात्रा दुवै वर्गका प्रतिस्पर्धा हुनेछन् । तेक्वान्दोमा छात्रतर्फ ४५ देखि ५९ केजीसम्म र छात्रातर्फ ४२ देखि ५२ केजीसम्म तथा एकल पुम्से, करातेमा छात्रतर्फ ४२ देखि ६२ केजीसम्म र छात्रातर्फ ४० देखि ६० केजीसम्म तथा एकल काँता प्रतियोगिता हुनेछन् ।
माध्यमिक विद्यालयतर्फ प्रथम हुने विद्यालयलाई नगद ४० हजार, द्वितीयलाई २५ हजार र तृतीयलाई १५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र दिइनेछ भने आधारभूत तर्फ प्रथम हुनेलाई नगद रु. २५ हजार, दोस्रो हुनेलाई १५, तेस्रो हुनेलाई १० हजार नगद सहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने फिल्ड मार्सल संयोजक राजेश यादवले जानकारी दिए ।
भलिबल, एथलेटिक्स, तेक्वान्दो, कबड्डी विधामा उत्कृष्ट खेलाडी र आवि र माविमा उपाधि लिएको विद्यालयका प्रशिक्षकलाई जनही नगद २० हजार नगद सहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
पत्रकार सम्मेलनको कार्यक्रम खेलकुद प्रतियोगिता सचिवालय संयोजक प्रशान्त तिमल्सिनाले सञ्चालन गरेका थिए भने कार्यक्रमसम्बन्धी जानकारी युवा, खेलकुद तथा शिक्षा शाखाका कर्मचारी लाल बहादुर बोहराले दिए ।
कार्यक्रमको समापन गर्दै गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रम सभाध्यक्ष निर्मला रोकायले राजनीतिक दल, संघ–संस्था, सुरक्षा निकाय, विद्यालय, खेल प्रशिक्षक, खेलाडी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी तथा सम्पूर्ण बैजनाथबासीलाई प्रतियोगिता सफल बनाउन सहयोगका लागि अपिल गरेकी छिन् । प्रतियोगिता माघ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन गरिनेछ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्