मध्यपश्चिम विश्वविद्यालय अनुसन्धान परिषदको बैंठक : अध्ययन, अनुसन्धानसँग सघन रुपमा जोड्नका लागि आवश्यक कार्यनीति अवलम्बन गर्ने निर्णय




कृष्ण कुमार शाही, सुर्खेत ।

मध्यपश्चिम विश्वविद्यालय अनुसन्धान परिषद्को पूर्ण बैंठक सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालय अनुसन्धान परिषद्को सातौं पूर्ण वैठक सम्पन्न भएको छ । उपकुलपति एवं अनुसन्धान परिषद्का अध्यक्ष प्रा. डा. ध्रुवकुमार गौतमज्यूको अध्यक्षतामा बसेको बैठकले विश्वविद्यालयलाई अध्ययन, अनुसन्धानसँग सघन रुपमा जोड्नका लागि आवश्यक कार्यनीति अवलम्बन गर्ने निर्णय गरेको छ ।

बैठकले अनुसन्धान व्यवस्थापन इकाइ सञ्चालनका लागि कार्यविधि निर्माण्, विभिन्न निकायहरुबाट प्रकाशित जर्नलहरुलाई निरन्तरता दिन प्रोत्साहन गर्ने, शोधपत्र, जर्नल जस्ता अनुसन्धानमूलक लेखको प्लेजरिज्म जाँच गर्नका लागि सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि निर्माण गर्ने लगायतका निर्णय गरेको छ ।

बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा. गौतमज्यूले मध्यपश्चिम विश्वविद्यालयलाई अन्तरराष्ट्रिय स्तरमा प्रविष्ट गर्ने गरी आवश्यक पहलकदमी लिन अनुसन्धान निर्देशनालयलाई निर्देश गरे । उनले निर्णय कार्यान्वयनका निम्ति चलायमान बन्न तथा अनुसन्धानात्मक क्रियाकलाप मार्फत विश्वविद्यालयको भिजिविलिटी बढाई इतिहास निर्माणको गहन जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।

बैठकमा रजिष्ट्रार एवं परिषद्का सदस्य प्रा. डा. शोभाखर कँडेलज्यूले विश्वविद्यालयको मुटु भनेकै अनुसन्धान भएकाले सोका लागि एक युनिट एक रिसर्च सेल गठन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए ।

बैठकमा परिषद्का सदस्य सहित आमन्त्रित विभिन्न ग्र्याजुएट स्कुलका डीन तथा कार्यकारी निर्देशकहरुको समुपस्थिति रहेको बैठकमा अनुसन्धान निर्देशनालयका कार्यकारी निर्देशक एवम् परिषद्का सदस्य-सचिव डा. पुष्पराज आचार्यज्यूले आफ्नो नियुक्ति पश्चात् आयोजित परिषद्को पहिलो बैठकमा आगामी दिनमा गर्न सकिने अनुसन्धानात्मक कार्ययोजनाको संक्षिप्त झलक प्रस्तुत गरेका थिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ साउन २३ गते शुक्रबार