Kohalpur Today Header Ads

प्रकाशकिय : जनताको पक्षमा उभिनेछौं




नेपालको संविधान, २०७२ ले सञ्चार क्षेत्रलाई दिएको सम्मानजनक अधिकारलाई केन्द्रमा राख्दै, राज्यको चौथो अंगका रूपमा मिडियाको मूल्य, मान्यता र संवैधानिक भूमिकालाई आत्मसात् गर्दै कोहलपुर टुडे डटकमको स्थापना वि.सं. २०७८ साल मंसिर २२ गते गरिएको सबैमा जगजाहेर छ ।

‘विकास, समृद्धि र समाज रूपान्तरणका लागि सञ्चार’ भन्ने मूल नाराका साथ बाँकेको कोहलपुरमा प्रधान कार्यालय स्थापना गरी यस मिडिया हाउसको सुरुवात गर्नु हाम्रो जिम्मेवारी थियो । स्थापनाकालदेखि नै हामीले स्थानीयदेखि राष्ट्रिय तहसम्मका विषयवस्तुलाई समेट्दै तथ्यपूर्ण समाचार आम जनसमुदाय समक्ष निरन्तर पस्केका छौं ।

पत्रकारिताको मुख्य दायित्व सत्य, तथ्य र निष्पक्ष सूचनाको प्रवाह गर्नु हो । यसले जनताको आवाज उठाउने, कमजोर र वञ्चित वर्गको पक्षमा सत्य बोल्ने, सत्तालाई निगरानी गर्दै उत्तरदायी बनाउने, समाजमा चेतना र सशक्तिकरणलाई बढाउने काम गरेको छ । पत्रकारिता लोकतन्त्रको आधारशिला हो, जसले जनताको सूचना पाउने अधिकारको संरक्षण गर्छ र सामाजिक न्याय, मानव अधिकार, शिक्षा, स्वास्थ्य, संस्कृति लगायत विविध विषयमा जनचेतना अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्दछ । नैतिकता, उत्तरदायित्व र निष्पक्षता पत्रकारिताको आत्मा हुन्, जसको आधारमा स्वस्थ, सभ्य र समावेशी समाजको निर्माण सम्भव हुन्छ ।

LIfe Ok

त्यसैलाई आत्मसात् गर्दै स्वच्छ, निष्पक्ष, सत्य र ताजा समाचार आमसमुदायमा पुर्याउने प्रयास गरिरहेका छौं। हामी राज्यको चौथो अंगका रूपमा सुसूचित, सचेत र तथ्यमा आधारित समाज निर्माणमा समर्पित छौं । हालको समयमा डिजिटल मिडियाको विकास, विस्तार र प्रभावकारी कार्यान्वयन आवश्यक छ भन्ने मान्यता राख्छौ ।

मिडिया ज्ञानको भण्डार हो, जसबाट जुनसुकै स्थानमा बसेर पनि विश्वका सूचनाहरू सजिलै प्राप्त गर्न सकिन्छ। समाजमा शिक्षा, संस्कृति, धर्म, राजनीति, स्वास्थ्य, कृषि लगायतका विविध पक्षमा विभेदरहित रूपमा सबैलाई समान सूचना पहुँच गराउनु हाम्रो कर्तव्य हो ।

देशमा अभ्यास भइरहेको लोकतन्त्र र त्यसका मूल्य—मान्यताको जगेर्ना गर्दै सूचना तथा ज्ञानको स्रोतलाई संकलन, व्यवस्थापन र वितरण गर्नु, जनचेतनाको विकासका लागि निरन्तर पैरवी गर्नु हाम्रो मूल दायित्व हो ।

हामी सचेतना अभिवृद्धि गर्ने ज्ञान र सीप प्रदान गर्न, सचेतनात्मक कार्यक्रम सञ्चालन गर्न, कृषकहरूका लागि प्राविधिक तालिम तथा सीप विकास, विपद् व्यवस्थापन, जलवायु परिवर्तनका प्रभावको जानकारी दिनेसहितका कार्यक्रम सञ्चालनमा सक्रिय रहने प्रतिबद्धता जनाउँदछौं । यिनै उद्देश्यका साथ सञ्चालित कोहलपुर टुडे डटकम परिवारद्वारा प्रस्तुत यो कोहलपुर टुडे स्मारिका पहिलोपटक यहाँहरू समक्ष प्रकाशन गर्न पाउँदा हामी अत्यन्त हर्षित छु ।

अन्त्यमा, स्थापना भएको तेस्रो वर्षमा प्रवेश गर्दासम्म हामीलाई आर्थिक, भौतिक, बौद्धिक र नैतिक सहयोग गर्नु हुने स्थानीय सरकार, संघसंस्था, विज्ञापनदाता, लेखक तथा सम्पूर्ण शुभेच्छुकप्रति आभार प्रकट गर्दछौं ।

तपाईंहरूको माया, सद्भाव र साथप्रति कृतज्ञता व्यक्त गर्दै, नयाँ वर्ष २०८२ को हार्दिक शुभकामना व्यक्त गर्दछौं। आगामी दिनहरूमा कोहलपुर टुडेलाई अझ सुदृढ, परिष्कृत र जनउत्तरदायी मिडिया बनाउने दृढ प्रतिबद्धता व्यक्त गर्दछौ ।

जय मिडिया । जय पत्रकारिता अस्तु ।

डिल्ली शाही
प्रकाशक

BMPC

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ असार २२ गते आइतबार