अवैध लागु औषधसहित कैलालीबाट ४ जना पक्राउ




काठमाडौँ ।

नेपाल प्रहरीले कैलालीबाट अवैध लागु औषधसहित चार जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरी टोलीले कैलालीको जानकी गाउँपालिका–७ बस्ने वर्ष १९ को शंकर चौधरीलाई रामपुरस्थित सडक छेउमा खैरो हेरोइन सेवन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

खानतलासीको क्रममा १ ग्राम ७० मिलिग्राम लागु औषध (खैरो हेरोइन) जस्तो देखिने धुलो पदार्थ बरामद गरी निजलाई नियन्त्रणमा लिई आवश्यक कारबाही लागि इलाका प्रहरी कार्यालय टिकापुरमा राखिएको प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय मालाखेती र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिगएको संयुक्त प्रहरी टोलीले जिल्ला कैलाली गोदावरी नगरपालिका–९ बाट शङ्कास्पद रूपमा हिँडिरहेको अवस्थामा २० वर्षीय विवेक चौधरीलाई चेकजाँच गर्दा निजको साथबाट ३६० मिलिग्राम लागु औषध फेला परेपछि उनलाई पनि नियन्त्रणमा लिइएको छ ।

यता इलाका प्रहरी कार्यालय भजनीबाट खटिगएको प्रहरी टोलीले जिल्ला कैलाली भजनी नगरपालिका–३ मोरीयाघाटस्थित भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेका कैलाली टिकापुर नगरपालिका–३ शंकरपुर बस्ने २१ वर्षीय किसन बिक र २९ वर्षीय लक्ष्मी प्रसाद चौलागाईको साथबाट १४० मिलिग्राम अवैध धुलो पदार्थ फेला परेपछि उनीहरूलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर १३ गते बिहीबार