शिक्षकलाई त्रसित नबनाऊ

नेपालमा २०७६ भदौ ४ को मन्त्रिपरिषद् बैठकले शिक्षक दरबन्दी मिलान गर्न स्वीकृति दिएको थियो । प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका दरबन्दी तहगत रूपमा मिलान गर्न लागेको हो । बाँके जिल्लामा दुई स्थानीय तहले दरबन्दी मिलान गरेको छ । जसमा कोहलपुर र नरैनापुर हुन् । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले २०७६ सालमा जारी गरिएको निर्देशिका अनुसार बाँकेमा शिक्षक दरबन्दी मिलान गर्न लागिएको हो ।

कार्यविधिअनुसार स्थानीय तहहरूमा प्रावि, निमावि र माविमा तहमा क्रमशः दरबन्दी मिलान गर्ने अथवा एकै पटक सबै तहमा दरबन्दी मिलान गरिन्छ । रिक्त दरबन्दी मिलान गरिसकेपछि बढी भएका शिक्षक सरुवा हुने गरी दरबन्दी थपघट गरिन्छ । दरबन्दी मिलान सकिएपछि शिक्षकको अभाव टर्ने र पठनपाठनमा सुधार आउनेछ । तराईमा शिक्षक–विद्यार्थी अनुपात ५० कायम गर्ने कार्यविधिमा उल्लेख छ ।

तर बैजनाथ गाउँपालिकामा कार्यविधि निर्माण नगरी मनोमानी ढङ्गबाट ४ शिक्षक मात्र दरबन्दी मिलान गरेको छ । शिक्षकले आफै प्रअ हुन चाहेको छु भन्दै गाउँपालिकामा निवेदन दिएका थिए । सोको आधारमा गाउँपालिकाको शिक्षा समितिले माघ २१ गते दरबन्दी मिलान गर्ने भनि निर्णय समेत गर्‍र्यो । यसरी सबै विद्यालयका शिक्षकहरुले प्रअ चाहियो भन्दै निवेदन आयो भने के सबै प्रअ हुन्छन् त ? त्यो पनि कार्यविधि निर्माण नगरी । सोको विरुद्धमा विभिन्न संगठनहरुले गाउँपालिकालाई ज्ञापन पत्र बुझाएका छन् । गाउँपालिकामा रहेका सम्पूर्ण शिक्षक संगठन, शिक्षा समितिको समन्वयबाट कार्यविधि निर्माण गरी शिक्षक दरबन्दी मिलान गर्नु राम्रो हुन्छ तर शिक्षकहरुलाई त्रसित नबनाउ ।