बैजनाथमा कार्यविधि नबनाई मनाेमानी रूपमा ४ शिक्षकलाई दरबन्दी मिलान




बैजनाथ गाउँपालिकाले कार्यविधि निर्माण नगरी ४ शिक्षकलाई दरबन्दी मिलान गरेको छ । बैजनाथ गाउँपालिका स्तरदेखि जिल्ला स्तरका शिक्षक संगठनहरुले यसको विरोध गरेका छन् । बैजनाथ गाउँपालिकाको शिक्षा समितिले २१ गतेको निर्णयबाट ४ शिक्षकलाई दरबन्दी मिलान गर्ने भनी निर्णय गरेको छ ।

बाँके जिल्लामा दुई स्थानीय तहले दरबन्दी मिलान गरेको छ । जसमा कोहलपुर र नरैनापुर हुन् । शिक्षा तथा मावन स्रोत विकास केन्द्रले २०७६ सालमा जारी गरिएको निर्देशिका अनुसार बाँकेमा शिक्षक दरबन्दी मिलान गर्ने लागिएको हो ।

शिक्षक संगठनहरुले पालिकालाई ज्ञापन पत्र

बैजनाथ गाउँपालिकालाई शिक्षकका विभिन्न संगठनहरुले ज्ञापन पत्र बुझाएका छन् । २३ गतेका दिन पालिका स्तरका संगठनका अगुवाहरुले ज्ञापन पत्र बुझाएका थिए भने २४ गते जिल्ला स्तरका संगठनका अगुवाहरुले पालिकालाई ज्ञापन पत्र बुझाएका छन् । शिक्षक महासंघ, नेपाल शिक्षक संगठन, नेपाल शिक्षक संगठन, एकिकृत अखिल नेपाल शिक्षक संगठन, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन र विद्यालय कर्मचारी परिषद्ले गाउँपालिकालाई संयूक्त ज्ञापन पत्र बुझाएका हुन् ।

२३ गते बुझाएको ज्ञापन पत्रमा ‘प्राथमिक तहदेखि मावि तहसम्म विद्यार्थी, विद्यालयको आवश्यकता, विद्यार्थीको अनुपातमा शिक्षाको ऐन, नियमावली अनुसार कार्यविधि निर्माण गर्ने दरबन्दी मिलान गर्ने आवश्यकता हो । यसलाई सकारात्मक रुपमा लिने थियौं । तर गाउँपालिकाले माघ २१ गतेका दिन दरबन्दी मिलानको नाममा हचुवाको भरमा र्पूवाग्रह सहित, वि.व्य.स. र सम्बन्धीत शिक्षकलाई समेत जानकारी नगराई दरबन्दी मिलान गरेको प्रति गम्भिर ध्यानाकर्षण गराएकोे छ ।

जसमा शिक्षक महासंघ बैजनाथका उपाध्यक्ष भुलप्रसाद अधिकारी, नेपाल शिक्षक संगठन बैजनाथका अध्यक्ष मान बहादुर खड्का, एकिकृत अखिल नेपाल शिक्षक संगठन बैजनाथका अध्यक्ष कुलादेवी भारती, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बैजनाथका अध्यक्ष दुर्गा बहादुर डाँगी र विद्यालय कर्मचारी परिषद् बैजनाथका अध्यक्ष गुलाम रसुल इन्द्रिसीको हस्ताक्षर गरेका छन् ।

२४ गते बुझाएको ज्ञापन पत्रमा शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९ एवं शिक्षासंग सम्बन्धीत प्रचलित ऐन नियमका अनुसार शिक्षक सरुवाको अधिकार शिक्षा विकास समन्वय इकाइमा रहेको स्पष्ट व्यवस्था रहेको छ । स्थानीय सञ्चालन ऐन २०७४ बमोजिम कार्यविधि निर्माण गरी गाउँपालिका भित्र रहेका प्रा.वि.देखि मा.वि. सम्मको कुल दरबन्दीलाई पुल (बास्केट) दरबन्दीमा राखी शिक्षक मिलान तथा प्रअ व्यवस्थापन न्यायोचित तरीकाले गर्न जोडदार माग गर्दै मनोमानी ढङ्गले प्रचलित ऐन नियमलाई दुरुपयोग गरी अगाडि बढाइएको माघ २१ गतेको निर्णयलाई यथाशिघ्र बदर गरी आवश्यक कार्यविधि बमोजिम उपयूक्त प्रक्रिया अगाडि नबढाए कानूनी उपचारका साथै कडा आन्दोलनका कार्यक्रम गर्ने बाध्य हुने उल्लेख छ ।

जसमा नेपाल शिक्षक संगठन बाँकेका उपाध्यक्ष शेखर रावत नेपाल शिक्षक संगठन बाँकेका सचिव ऋषि राज शर्मा, एकिकृत अखिल नेपाल शिक्षक संगठन बाँके सचिव दिलिप वली, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका अध्यक्ष दुर्गा बहादुर डाँगी हस्ताक्षर छ ।

किन ज्ञापन पत्र ?

बाँके जिल्लाका काेहलपुर र नरैनापुरमा शिक्षा ऐन अनुसार नै कार्यविधि निर्माण गरी दरबन्दी मिलान गरेकाे छ । बैजनाथ गाउँपालिकामा शिक्षा समितिको २१ गतेको निर्णय र सम्बन्धीत विद्यालयबाट प्रअ बनाईदिनुहुन भनी लिखित निवेदन आएको थियो । सोही अनुसार चार जना शिक्षकको दरबन्दी मिलान गरियो । सामुदायिक विद्यालयमा कतै विद्यार्थीको संख्या धेरै छ भने कतै शिक्षकको संख्या बढि त्यसकारणले समानुपातिक मिलान गराउनका लागि दरबन्दी मिलान गरिन्छ ।

कानूनी उपचार खोज्नुहोस् तर निर्णय बदर हुँदैन : अध्यक्ष रुचाल

बैजनाथ गाउँपालिकाले गरेको निर्णयप्रति अडानका साथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचालले कानूनी उपचार खोज्नुहोस् तर निर्णय बदर नहुने बताएका छन् । गाउँपालिकाले शिक्षा ऐन र स्थानिय सञ्चालन ऐन २०७४ अनुसार काम गरेको छ उनले भने हाम्रो अधिकार भन्दा बाहिर गएर काम गरेका छैनौ । हामीले चार शिक्षकलाई दरबन्दी मिलान गरेका छौ, यहाँ राजनितिक, मनोमानी र पूृर्वाग्रह रुपमा दरबन्दी मिलान गरेका होइनौ तर हाम्रो अधिकारभित्र रहेर दरबन्दी मिलान गरेको भन्दै उनले आफ्नो अडान राखेका थिए ।

कुन शिक्षकलाई कहाँ दरबन्दी ?

बैजनाथ गाउँपालिका शिक्षा शाखा प्रमुख विश्वराज ढकालका अनुसार पालिकामा शंकर मावि, प्रभात मावि, सूर्योदय मावि र जनता मावि गरी ४ वटा विद्यालयमा ५ वटा दरबन्दी छन् त्यसबाट नै माविका शिक्षकहरुलाई दरबन्दी मिलान गरी अन्य ४ विद्यालयमा प्रअको रुपमा लिने भनि निर्णय भएको बताए । तर कार्यविधि बनाउने र कार्यापालिकाबाट पास गर्ने विषयमा कुरा चलेको छ तर कार्यविधि भने नबनेको शिक्षा शाखा प्रमुख ढकालले बताए ।

उनका अनुसार शंकर मा.वि. बाट नेरा मा.वि. टिटिरियामा विष्णु ढकाल, प्रभात मा.वि.बाट नेरा मा.वि. गुरुवागाउँमा भुल प्रसाद अधिकारी, सुर्योदय मा.वि.बाट नेरा मा.वि. पेडारीमा खालि दरबन्दी, जनता मा.वि.बाट बागेश्वरी मा.वि. गाभरमा हिक्मत विसीलाई दरबन्दी मिलान गरेको शिक्षा शाखा प्रमुख ढकालले बताए । बैजनाथ गाउँपालिमा १ देखि ५ सम्म ९ वटा, १ देखि ८ सम्म १० वटा, १ देखि १० सम्म ११ र १ देखि १२ सम्म ४ वटा विद्यालय रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ २४ गते सोमबार