मुगुमा सामूहिक हत्या प्रकरण : पोस्टमार्टमका लागि शव सदरमुकाम ल्याइयो

मुगु ।

मुगुमा भएको एकै परिवारका चार जनाको हत्या घटनाको अनुसन्धानका लागि प्रहरी खटाइएको छ । शनिबार बिहानैदेखि अनुसन्धानमा खटिएको प्रहरी टोलीले शव पोस्टमार्टमका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ ।

छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँबाट शव गमगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । मन्दु गाउँ जिल्ला सदरमुकामदेखि २ घण्टा टाढा रहेको छ ।

उनका अनुसार मृतक श्रीदेवीका श्रीमान दीपक बोहोरा घर आइसकेपछि मुचुल्का गरेर शव पोस्टमार्टमका लागि सदरमुकाम गमगढी ल्याउन लागिएको बताए ।

कतारमा रहेका दीपक घटना घटेपछि शुक्रबार साँझ कतारबाट हिँडेका र शनिबार बिहान ११ बजे घरमा पुगेका हुन् ।

शुक्रबार मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै फेला परेको थियो । उनीहरुको धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट अनुमान गरिएको छ ।

मृतक आमा श्रीदेवी छोराछोरीसहित ७ गते दसैंको टीका थाप्न उक्त वडामा रहेको माइती गाउँ कोटिल्ला गएकी थिइन् । माइतीबाट टिका, जमरा लगाएर छोराछोरी सहित उनी ८ गते बेलुका घर फर्किएकी थिइन् । उक्त राति सामूहिक हत्या गरिएको प्रहरीले जानकारी दिइएको थियो ।