जीवन्त पत्रकारिताको अभ्यास हाम्रो प्रतिबद्धता

यो डिजिटल युग हो । आज हरेक कुरा डिजिटलाइज्ड हुँदै गएका छन् । हिजो असम्भव जस्तै लाग्ने विषय पनि आजका दिनमा सम्भव भएका छन् । त्यो सबै प्रविधिले नै सम्भव भएको हो । सञ्चारको दुनियाँमा पनि डिजिटलाइजेसन भएको छ । अहिले रेडियो, टेलिभिजन, पत्रिकाका पनि आफ्नै अनलाइन पोर्टलहरु छन् । हिजोका दिनमा सीमित मानिसहरुको मात्रै पहुँचमा भएको मिडिया आज हरेक मानिसहरुको हातहातमा
छ । विश्वको जुनसुकै कुनामा भए पनि क्लिककै भरमा मानिसहरुमाझ सूचना र समाचार पुगिरहेको छ । यो सञ्चार प्रविधिको दुनियाँमा सकारात्मक फड्को नै हो । तर, केही अनलाइनहरुले ‘फेक’ समाचार दिने गरेका कारण पाठकलाई कुन सही र कुन गलत हो भन्ने छुट्याउन गाह्रो भएको छ ।

अहिले नेपालमा अनलाइनको संख्या दिनुहुँ बढिरहेको छ । बर्गेल्ती खुलेका अनलाइन पोर्टलमा हामी पनि मिसिएका छौं । हामीलाई चुनौती छ, बढ्दो भीडमा आफूलाई कसरी स्थापित गराउने भन्ने । अहिले भ्यूजका नाम वा प्रयोजितरुपमा समाचार तोडेर, मोडेर पाठकमाझ पस्कने प्रचलन बढ्दै गएको छ । यहीँनेर हामी पाठकलाई सही र भरपर्दो सूचना दिएर आफूलाई स्थापित गर्दै लैजाने छौं । कोहलपुर टुडे डटकम कोहलपुर मिडिया हाउसद्वारा सञ्चालित अनलाइन पोर्टल हो । हामीले विभिन्न क्षेत्र, घटना, परिस्थिति, वातावरण र परिवेशको सत्य र तथ्य आधारको खोजी गरेर समाजमा भएका घटनाका अनुसन्धान र विश्लेषण गर्दै नागरिकलाई सुसूचित गर्ने उद्देश्य लिएर तपाईंहरु माझ उपस्थित भएका छौं । हामी फरक शैली र प्रस्तुतिका साथ यहाँहरुमाझ आएका छौं ।

हामी परम्परागत शैली र ढाँचाबाट होइन, नयाँ र जीवन्त पत्रकारिताको अभ्यास गर्ने योजनामा छौं । रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइनकै पनि वैकल्पिक मिडियाको रुपमा प्रस्तुत हुने हाम्रो लक्ष्य छ । कोहलपुर टुडेमा सबै ठाउँका आम मानिसहरुको पेशादेखि व्यवसायसम्म, राजनीतिदेखि अर्थतन्त्रसम्म, इतिहासदेखि भविष्यसम्म, स्वास्थ्य–शिक्षादेखि पर्यटनसम्म र खेलदेखि मनोरञ्जनसम्मका विभिन्न विषयवस्तु, नयाँ समाचार, विचार, दृष्टिकोण, दर्शन र साहित्यक रचनाहरु घर, कार्यालय र काम गर्ने स्थानबाट सहजै रुपमा पढ्न र हेर्न सक्नुहुनेछ ।

हामी अनलाइन पत्रकारिता गरिरहँदा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं । हामी पत्रकारिताका सिद्धान्तहरुलाई निकै दृढतापूर्वक आत्मसात् गर्नेछौं । तर सत्यतथ्य घटना, सामाजिक न्याय, राष्ट्रियता, सार्वभौमिकता तथा जनजीविकाको क्षेत्रमा उठेका प्रश्नहरुमा हाम्रो निष्ठा कतै पनि कमजोर हुनेछैन भन्ने कुरामा प्रतिबद्ध छौं । हामी जहिले पनि आमपाठक र दर्शकको पक्षमा उभिनेछौं र सम्झौताहीन पत्रकारितालाई जोड दिनेछौं । हामी तपाईंको रचनात्मक सुझाव र सल्लाहको अपेक्षा गर्दछौं ।