नगर प्रहरीको निगरानी: फोहोर फल्दा ५ हजारदेखि १५ हजारसम्म जरिवाना

कोहलपुर ।

कोहलपुर नगरपालिकाको बजार केन्द्रित नगर प्रहरी कोहलपुरले निगरानी गर्न थालेको छ । कोहलपुरका दक्षिणको हाइस्कुलदेखि उत्तरको मनकामना चोकसम्म, पूर्वको चप्परगौडीको पश्चिमको मनदचोकसम्म राती र विहानको समयमा विशेष निगरानी गरेको छ ।

कोहलपुर नगर प्रहरीले ट्रष्ट हटाउने, निर्माण सामग्री हटाउने र तार व्यवस्थापन गर्ने, अतिक्रमण नियन्त्रण, सरसफाई कार्यक्रम र सचेतनामुलक कार्यक्रम समेत गरेको नगर प्रहरी प्रमुख थापाले बताए । ‘बजार केन्द्रित गरी सरसफाई अभियान तेस्रो अभियान हो,’ उनले भने, ‘सरसफाई पहिले गर्छौ, पुनः सरसफाईकर्मीले सरसफाई गर्छन, त्यसपछि जथाभावी फोहोर फाल्ने व्यक्तिलाई कारवाहीको दायरामा ल्याउँछौं ।’

बुधबार नगर प्रहरीको निगरानीमा साँझ साढे आठ बजेको समयमा कोहलपुर ११ स्थित रेडक्रस पछाडि सडक छेउमा फोहर फाल्ने प्रकाश पोखरेल फन्दामा परे । दशविगाहमा विगत लामोसमयदेखि सञ्चालनमा रहेको नमस्ते मिट अप पसलबाट कुखुराको प्वाक र खसीको भुत्ला बोरामा राखेर निस्किएका प्रकाश पोखरेललाई भे ५ प ४६८१ नम्बरको स्कुटी सहित नियन्त्रणमा लिइ ५ हजार जरिवाना तिराएकाे छ ।

‘विगत १ महिनाभन्दा बढि भयो सार्वजनिक सूचना जारी गर्दै जनहितमा जारी सन्देशहरु समेत प्रवाह गरेका छौं,’ उनले भने, ‘तर अटेर गर्नुभयो मान्नुभएन, अहिले नगर प्रहरीले साँझ र विहानको समयमा गस्ती गरी फोहोर जथाभावी फाल्ने व्यक्तिहरुलाई निगरानी गरिरहेको नगर प्रहरी प्रमुख थापाले बताए ।

कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले कोहलपुरबासीहरु सचेत नहुँदासम्म यो अभियान सञ्चालन हुने बताए । ‘नगरपालिकाले ४ जना सरसफाईकर्मी राखेको छ,’ उनले भने, ‘उनीहरुले सार्वजनिक क्षेत्रमा सरसफाई गर्छन ।’ कोहलपुरमा विभिन्न बजार क्षेत्रमा समेत फोहोरका डंगुरहरु भेटिएपछि यो अभियान सञ्चालन गर्नुपरेको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।

‘जटायु रिसाइकलर्स प्रालिले फोहार संकलन गरी व्यवस्थापन गर्ने गर्दछ,’ उनले थपे, ‘तर कोहलपुरका बासिन्दाहरुले फोहोर संकलनको साटो सार्वजनिक स्थानहरुमा फाल्ने गर्दछन् ।’ त्यसकारण नगर प्रहरीलाई अभियान नै सञ्चालन गरी ऐन नियम अनुसार कारवाही गर्न आदेश दिइएको ढकालले जानकारी दिए ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले कोहलपुर नगरलाई सुन्दर बनाउने सबैको सम्मान जिम्मेवारी रहेको बताए । ‘नगरपालिकाले महिनौदेखि निरन्तर अनुरोध गर्‍र्यौ,’ उनले भने, ‘तर मान्नु भएन, बेवास्ता गर्नुभयो, अभियान सञ्चालन गर्‍यौं र कारवाही गर्न थाल्यौं ।’ पालिकाले दण्डित हैन पुरस्कृत हुने अभियानमा सबैजना लाग्नुहुन नगर प्रमुख आचार्यले अनुरोध गरे ।