परवानीपुरमा विद्यार्थीले गरेको चक्काजाम खुलाउन १३ राउन्ड अश्रु ग्यास

वीरगञ्ज । वीरगञ्ज–पथलैया व्यापारिक मार्ग अन्र्तगत परवानीपुर बजारमा सोमबार विद्यार्थीहरुले चक्काजाम गरेका छन् । बिहान साढे ११ बजेदेखि साढे १२ बजेसम्म चक्काजाम गर्नुको साथै टायर बालेर प्रदर्शन गरेका हुन् ।

वीरगञ्ज महानगरपालिका–२१ स्थित नेपाल गीता गजेन्द्रराज जोशी माविका विद्यार्थीको भिडलाई नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्यास हानेको छ । अंग्रेजी र विज्ञान विषयको विषयगत शिक्षकको माग गर्दै विद्यार्थी आन्दोलनमा उत्रिएका हुन् । तीन दिनअघि विद्यार्थीले लिपनीविर्ता स्थित वडा कार्यालयम समेत प्रदर्शन गरेका थिए । प्रदर्शन रोक्न गएको प्रहरीलाई विद्यार्थीले ढुंगा प्रहार गरेका थिए ।
चक्काजाम हटाउन र प्रदर्शन रोक्न प्रहरीलाई हम्मेहम्मे परेको छ । विद्यार्थीको भिड नियन्त्रणमा लिने क्रममा प्रदर्शनमा सहभागी केही विद्यार्थी घाइते समेत भएका छन् । कक्षा १० का विद्यार्थी लक्षमिना पटेल, सोनु पटेल, अखिलेश मण्डल, प्रेमराज मण्डल, सुवोध पटेल, राहुल देवान लगायत घाईते भएको प्रदर्शनमा सहभागी विद्यार्थीले बताएका छन् ।

नजिकैको स्वास्थ्य चौकीमा उनीहरुको उपचार गरिएको छ । त्यसैगरी विद्यार्थीले गरेको ढुंगा प्रहारबाट प्रहरी तर्फ ४ जना घाईते हुनुको साथै दुईवटा गाडीको सीसा फुटेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले स्थिति नियन्त्रण भन्दा बाहिर गएपछि १३ राउण्ड अश्रु ग्यास प्रहार गर्नुपरेको बताए ।

‘विद्यार्थीले राजमार्गमा टायर बालेर प्रदर्शन गर्दै थिए, राजमार्ग अवरुद्ध थियो । सम्झाई बुझाई गर्दा मानेनन, उल्टै प्रहरी माथि नै ढुंगा हान्न थाले’ उनले भने ‘विद्यार्थीलाई लाठी हान्ने कुरा पनि भएन, १३ राउण्ड अश्रुग्यास हानेर तितर वितर पार्‍यौं ।’

बाल विकासदेखि १० कक्षासम्म अध्यापन हुने विद्यालयमा ८ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ४ शिक्षिका र ११ शिक्षक छन् । दैनिक चार जना अनुपस्थित रहँदै आएकोले पठनपाठन प्रभावित भएको विद्यार्थीको भनाई छ । प्रयोगशाला तथा कम्प्युटर कक्ष भएपनि आफूहरुले केही सिक्न नपाएको उनीहरुको भनाइ छ ।