कोहलपुर नगर क्षेत्रका ८ सय ७२ वटा अनधिकृत होडिङ र फल्यास वोर्ड हटाइयो

File Photo

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका भित्रका ८ सय ७२ वटा अनाधिकृत होडिङ र फल्यास वोर्डहरु हटाइएको छ । कोहलपुर नगरपालिकामा कार्यरत नगर प्रहरीको नेतृत्वमा सो ८ सय ७२ वटा अनाधिकृत होडिङ र फल्यास वोर्डहरु हटाइएको हो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यको निर्देशनमा नगर क्षेत्रमा पर्ने पूर्वपश्चिम राजमार्ग र रत्न राजमार्गको छेउछाउमा राखिएका त्यस्ता अनधिकृत र मापदण्ड विपरीतका होडिङ वोर्ड तथा फल्यास बोर्डहरु हटाइएको हो । अभियान करिब २ महिना पहिलेदेखि सुरु भएको थियो । केही संस्थाहरुलाई कारवाही गरेको छ ।

कोहलपुर नगर प्रहरी प्रमुख विर बहादुर थापाले कोहलपुर नगर क्षेत्रभित्रका अनधिकृत तथा मापदण्ड विपरीतका सबै होडिङ वोर्ड तथा फल्यास वोर्डहरु हटाइएको बताए । अनधिकृतरुपमा होडिङ वोर्ड राख्नेलाई कारवाहीको दायरामा समेत ल्याएको छौं उनले भने अहिलेसम्म २० हजार ५ सय रुपैयाँ जरिवाना अशुल गरिसकेका छौं । ती होडिङ वोर्डहरु जरिवाना गरेर सम्बन्धित निकायलाई बुझाउने काम समेत भइरहेको छ ।

थापाका अनुसार अहिलेसम्म ४१ वटा होर्डिङ बोर्ड सम्बन्धित धनीले जरिवाना तिरेर लगिसकेका छन् । नगरपालिकाको नियन्त्रणमा रहेका होर्डिङ बोर्ड र फल्यास वोर्डहरु जरिवाना तिरेर लैजान ७ दिने सूचना जारी गरेको छ । ७ दिनभित्र सम्बन्धित धनी लिन नआएको खण्डमा नगरपालिकाले कानून अनुसार लिलामी प्रक्रिया अगाडि बढाउने कोहलपुर नगर प्रहरी प्रमुख थापाले जानकारी दिए ।