शुदाम शर्मा, रुकुम पश्चिम ।
नेपाल सरकारका अर्थमन्त्री तथा बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार जनादर्न शर्माले रुकुम पश्चिमलाई नेपालकै नमूना जिल्लाको रुपमा विकास गर्ने योजना बनाएकोे बताएका छन् ।
शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै शर्माले अबको पाँच वर्षमा देशकै नमूना जिल्लाको रुपमा विकास गर्ने योजना लिएर आएको बताएका थिए ।
शर्माले रुकुमको समग्र विकास र समृद्धि निर्माण गर्न दलहरुबिचको आपसी एकता र सहकार्यलाई अझ बलियो बनाउन संयुक्त निर्वाचन परिचालन समिति समेत निर्माण गरेको बताए ।
नेपाली कांग्रेसका नेता तथा पूर्व राज्यमन्त्री गोपालजि जंग शाहको संयोजकत्वमा बाम गठबन्धनले संयुक्त निर्वाचन परिचालन समिति गठन गरेको छ । सो समितिमा १ सय ९ जना सदस्य छन् ।
जिल्लाका विभिन्न ठाउँमा संयुक्त कार्यक्रम गर्ने गरी तालिका बनाएको छ । जसअनुसार कार्तिक १८ गते आज चौरजहारी नगरपालिकाको खोलागाउँमा संयुक्त सभा हुँदै छ । त्यस्तै कार्तिक १९ गते त्रिवेणी गाउँपालिकाको पेउघा, २० गते सिम्रुतु, २१ गते सानीभेरीको दुली छहरा, २३ गते बाँफिकोटको छिन्खेत र २४ गते आठबीसकोटको राडिमा कार्यक्रम हुने छ ।
कार्तिक २५ गते आठबीसकोटको गोतामकोट, २६ गते खदीको साझेबगर, २८ गते मुसिकोटको झुल्खेत, २९ गते छिवाङ, ३० गते सानीभेरीको सिम्ली र मंसिर १ गते चौरजहारीको शंखपिपलमा चुनावी सभा हुने गठबन्धनले जानकारी दिएको छ ।
पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका का.व.जिल्ला सभापति हर्कसिंह खत्री, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक गोविन्द रोका, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हरिप्रसाद शर्मा, नेपाल समाजवादी पार्टीका जिल्ला अध्यक्ष प्रशाराम खत्री र राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठको उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्