घनाश्याम रेग्मी
नाना कर्म र भावले मनुज यी वैषम्य लागे पनि
चाहे धर्म भनेर मानिसहरू अन्यत्र लागे पनि
आत्मामा भगवान छन् र सबका रातै हुने रक्त हो
हामी मानिस दाजुभाइ सब हौँ के पश्चिमा पूर्वको ।
उस्तै चाल गरेर जन्म सबको नौं मास भित्रै बसी
उस्तै चाल छ जन्मका समयमा जन्मन्छ कस्दै मुठी
उस्तै सास लिएर फेर्दछ सबै के भिन्न हुन्थ्यो नर
बस्ने बास छ भिन्न भिन्न सबको देख्दा सबैले तर ।
सेता हाडहरू नशा रगतका उस्तै छ हाम्रो तन
आत्मामा हरिको छ बास सबका के भिन्न हुन्थ्यो मन
भाषा भेष छ मात्र भिन्न जगमा उस्तै छ बाँच्ने कला
आऊ प्रेम गरेर मानिस बनौँ बाँच्ने यही दो पला ।
शिक्षा ज्ञान विकासले सब पुगे आकाश भन्दा पर
थोत्रा सोच विचारले अब नयाँ के बन्छ हाम्रो घर
सच्चा सोच भयो भने सब जना हामी हुने भाइ छौ
साझा मार्ग खनेर उन्नति हुने सत्मार्गमा हिँड्दछौँ ।
हामी मानिस एक हौँ तर यता कस्तो छ यो भिन्नता
यो जानेर मनुष्यले अब सबै छाडौँ कुरा खिन्नता
हामी आपसमा मिलेर अब यो धर्ती बचायौँ भने
हाम्रा सन्तति सभ्य शिष्ट गुणका होलान् कुरा बुझ्दिने ।
आफूझैँ अब विश्वका मनुजमा छायाँ र मायाँ गरे
साझा चिन्तन राखिए जगतको होला भलो लौ भरे
यो संसार विचित्रको छ यसमा दृश्यादि नाना हुने
साझा सूर्य र जून छन् भुवनमा उस्तै सधैं झुल्किने ।
काेहलपुर टुडे । १० पुष २०७८, शनिबार २१:२०