२५ वर्षपछि बुटवलकोमा कांग्रेसका मेयर खेलराज पाण्डेय निर्वाचित

काेहलपुर  ।

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेयले फराकिलो मतान्तरले जित हासिल गरेका छन् ।

२०७४ को निर्वाचनमा एमालेका शिवराज सुवेदीसँग पराजित भएका पाण्डेले यसपटक एमालेका बाबुराम भट्टराईलाई सात हजार ५३३ मतान्तरले पराजित गरेका हुन् । पाण्डेयले ३० हजार १३० मत पाएर निर्वाचित हुँदा एमालेका भट्टराईले २२ हजार ५९७ मत पाएका छन् ।

नेपाली कांग्रेसका बुटवल नगरसभापति समेत रहेका पाण्डेयलाई सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

पाण्डेयको यो जितसंगै बुटवलको नेतृत्वमा २५ वर्षपछि कांग्रेसले पुनरागमन गरेको छ । बुटवलमा २०५४ सालयताका सबैजसो चुनावमा नेकपा एमालेले जित्दै आएको थियो ।

को हुन् खेलराज पाण्डे ?

५ फागुन २०२६ मा बुबा लीलावल्लभ पाण्डे र आमा तारादेवी पाण्डेको कोखबाट स्याङ्जाको साविक आलमदेवी २ (हाल कालीगण्डकी गाउँपालिका- २) मा जन्मिएका पाण्डे हाल बुटवल उपमहानगरपालिका– ६ का बासिन्दा हुन् ।

१३ वर्षको उमेरमै २०३८ सालमा बुटवलमा झरेका पाण्डेले पार्टी राजनीति बुटवलबाटै सुरु गरे पनि विद्यार्थी संगठनमा आवद्ध भई स्याङ्जाबाट आफ्नो राजनीतिक जीवन सुरु गरेका हुन् ।

आदर्श मावि स्याङ्जाबाट २०३९ सालमा नेपाल विद्यार्थी संघको सदस्यता लिएका पाण्डे २०४० सालमा पाल्पाको जेभीटी स्कुलमा पढ्दा नेविसंघकै समितिमा आवद्ध भए ।

त्यसपछि २०४३ सालमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत पाल्पा क्याम्पसमा विज्ञान संकायको इकाइ सदस्य, २०४४ सालमा अमृत साइन्स क्याम्पसमा नेविसंघको सचिव, २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको नेविसंघ उपसभापति र २०५२ सालमा रूपन्देहीको नेविसंघ सचिव बनेका हुन् ।

विद्यार्थी राजनीतिपछि तरुण दलमा आवद्ध पाण्डे २०५९ सालमा नेपाल तरुण दल रूपन्देहीको अध्यक्ष, २०६० सालमा नेपाल तरुण दल केन्द्रीय सदस्य भए भने २०६७ सालमा नेपाली कांग्रेस बुटवल नगर सभापति भए । २०६७, २०७२ र २०७८ सालमा भएका अधिवेशनबाट पाण्डे निरन्तर नेपाली कांग्रेस बुटवल नगर समितिको सभापति रहे ।

श्रीमती सीता भट्टराई पाण्डेय र छोरा अभिषेकका साथ बुटवलमा बसोबास गर्दै आएका पाण्डेले स्नातक तहसम्मको अध्ययन गरेका छन् । आफ्नो निजी घर नभएका पाण्डे ३५ वर्षदेखि डेरामा बस्दै आएका छन् । उनको आफ्नो सवारी साधन पनि छैन ।

पार्टीका कार्यक्रमहरुमा उनी अरुको लिफ्ट मागेर या नजिकमा पैदल हिँडेर पुग्ने गर्छन् । बिहानैदेखि साँझ अबेरसम्म पार्टी र सामाजिक काममा व्यस्त रहने पाण्डे बुटवलका हरेक वडा र टोलसम्म परिचित व्यक्ति हुन् ।