बाँसगढी नगर प्रमुख र उपप्रमुखमा एमाले बिजय

रावन विश्वकर्मा,
बर्दियाको बाँसगढी नगरपालिका प्रमुख र उपप्रमुख पदमा नेकपा एमाले बिजय भएको छ । पहिलो स्थानिय तह निर्वाचनमा प्रमुख र उपप्रमुख एमालेले जितेको बाँसगढीमा अहिले पनि एमाले बिजय भएको हो । नेकपा एमाले, माओवादी केन्द्र र नेपाली काँग्रेसको मुख्य प्रतिस्पर्धा रहेको बाँसगढी नगरपालिकामा एमालले जित निकालेको छ । नगर प्रमुखमा नेकपा एमालेका खडक बहादुर खड्का र उपप्रमुखमा इन्दिरा चौधरी निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बाँसगढीले जनाएको छ । नेकपा माओवादी केन्द्रका भवन कुमार थारुलाई ११८४ मत अन्तरले हराउदै एमालेका खड्का नगर प्रमुखमा निर्वाचित हुनु भएको हो । खड्काले १०९४७ मत ल्याउनु भएको थियो भने थारुले ९७६३ मत र नेपाली काँग्रेसका सविन कुमार थापाले ७३११ मत ल्याउनु भएको थियो । बाँसगढी नगरपालिकाको नगर प्रमुख पदका लागि बिभिन्न पार्टी र १ स्वतन्त्र गरी ९ जनाको उम्मेदवारी परेको थियो । नगर प्रमुखका लागि मुख्य ३ दल संगै जनता समाजवादी पार्टीबाट विपिन पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राम बहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट हरिलाल न्यौपाने, जनमत पाटीबाट लेखराज यादव, नेशलिष्ट पिपुल पार्टीबाट हुकम बहादुर बुढामगर र स्वतन्त्रबाट सुरेन्द्र कुमार खड्काको उम्मेदवारी थियो ।

 त्यस्तै बाँसगढी नगर उपप्रमुखमा नेपाली काँग्रेसका आकाश थारु(सोमती) लाई हराउदै एमालेका इन्दिरा चौधरी नगर उपप्रमुखमा निर्वाचित हुनु भएको छ । एमालेका चौधरीले ११०३५ मत ल्याउनु भएको थियो भने काँगेसका थारुले ८५१२ मत र नेकपा माओवादीका भोमी बिटालुले ८२३८ मत ल्याउनु भएको थियो । बाँसगढीको उपप्रमुख पदका लागि ५ जनाको मात्रै उम्मेदवारी परेको थियो । मुख्य ३ दल सँगै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रामप्यारी थारुको उम्मेदवारी परेको थियो । ९ वडा रहेको बाँसगढीमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले ३।३ वडामा आफ्नो जित सुरक्षित गरेको छ । एमालले २, ४, ८ नं वडामा आफ्नो जीत निकालेको छ भने माओवादीले १, ३ र ६ वडा र काँग्रेसले ५, ७ र ९ वडामा आफ्नो जित सुरक्षित गरेको छ । बाँसगढीमा एमालले नगर प्रमुख उपप्रमुख सगै ३ नं वडामा वडा अध्यक्ष बाहेक सबै सदस्य र ७ नं वडामा १ वडा सदस्य जितेको छ । बाँसगढी नगरपालिकामा ४३ हजार ४ सय ६४ जम्मा मतदाता रहेकोमा ३० हजार ९ सय ७५ मत खसेको थियो ।