चार महिनाअघि कोहलपुरमा दुई युवालाई खुँडा र तरवार प्रहार गरेको आरोपमा थप एकजना पक्राउ

काेहलपुर । चार महिनाअघि बाँकेको कोहलपुरमा दुई युवालाई खुँडा र तरवार प्रहार गरेको आरोपमा थप एकजना पक्राउ

परेका छन् । पक्राउ पर्नेमा १५ वर्षीय बालक रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

यसअघि कोहलपुर–१० बिद्यानगरका २२ वर्षीय विनय चन्द पक्राउ परिसकेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रबिन्द्र खनालले जानकारी दिए ।

पक्राउ परेका दुवैजनालाई कोहलपुर प्रहरीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । उनीहरुले गत भदौ १३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर अगाडि कोहलपुर–५ का १९ वर्षीय प्रदीप राना क्षेत्री र २६ वर्षीय विशाल भन्ने कविराज केसीलाई धारिलो हतियारले हानेर घाइते बनाएका थिए ।

दुवैजनालाई धारिलो हतियार खुँडा र तरवारसमेत प्रहार गरेर गम्भीर घाइते बनाएको आरोपमा पक्राउ गरिएको डीएसपी खनालले जानकारी दिए । पक्राउ परेका बालक र चन्दविरुद्ध डिलसरा रोका क्षेत्री र कविराज केसीले ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दरखास्त दिएका छन् ।

अनुसन्धानका क्रममा कुलिन भन्ने अविनाश राना सञ्चालक रहेको केआर कन्ट्रक्सनको नाममा रहेको लु७६प २५२९ नम्बरको मोटरसाइकल घटनामा प्रयोग भएको देखिएको प्रहरीले जनाएको छ ।