कोहलपुर । कोहलपुर नगरपालिका–३ मा रहेको हिमालय मदरसा आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति (विव्यस) अध्यक्षमा मुस्तफा खान सर्वसम्मत चयन भएका छन् ।
मंगलबार बसेको अभिभावक भेलाले खानलाई विव्यस अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । भेलाबाट विव्यस सदस्यमा लुकमान खाँ बडुवा, अजरुन खान र फरजिन खान पनि सर्वसम्मत चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समितिमा विद्यालयका प्रधानाध्यापक तथा सदस्य–सचिव राजेन्द्र केसी र शिक्षक प्रतिनिधि खडानन्द पौडेल रहेका छन् ।
कोहलपुर नगरपालिका–३ का वडा अध्यक्ष माधव रिजालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वडा अध्यक्ष रिजालले विद्यालयको शैक्षिक तथा भौतिक अवस्था सुधारका लागि आफू निरन्तर लागिरहेको बताए ।
उनले आगामी दिनमा विद्यालयमा रहेका समस्याको समाधान गर्न तथा विद्यालयको पहिचान र शैक्षिक गुणस्तर वृद्धि गर्न आफ्नो क्षेत्रबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक तथा सदस्य–सचिव राजेन्द्र केसीले विद्यालयमा रहेका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराइएको बताए ।
उनले आगामी दिनमा वडा कार्यालय, कोहलपुर नगरपालिका तथा अन्य सरोकारवाला निकायबाट विद्यालयको भौतिक पूर्वाधार निर्माण तथा बालविकास शिक्षकको आवश्यकता पूरा हुने विश्वास व्यक्त गरे ।
प्रधानाध्यापक केसीका अनुसार विद्यालयमा अहिले सबैभन्दा ठूलो समस्या शौचालयको रहेको छ । विद्यालयमा रहेको शौचालयबाट पानी चुहिने तथा संरचना जीर्ण अवस्थामा रहेकाले मर्मतसँगै नयाँ शौचालय निर्माणको आवश्यकता रहेको उनले बताए ।
विद्यालयले भौतिक पूर्वाधारको सुधारसँगै बालविकास शिक्षकको व्यवस्थापन र अन्य शैक्षिक आवश्यकतामा समेत सम्बन्धित निकायको ध्यानाकर्षण हुनुपर्ने उनको भनाई थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
















प्रतिक्रिया दिनुहोस्