राष्ट्रिय पुस्तकालय नीति–२०८३ का लागि कोहलपुरबाट महत्वपूर्ण सुझाव, विज्ञ हिरेन्द्र शाहीद्वारा अन्तरक्रिया




कोहलपुर, बाँके। नेपाल सरकारले निर्माण गर्न लागेको राष्ट्रिय पुस्तकालय नीति–२०८३ लाई थप प्रभावकारी, समावेशी र व्यवहारमुखी बनाउने उद्देश्यले सुझाव संकलन गर्ने क्रममा राष्ट्रिय सभा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति अन्तर्गतको पुस्तकालय नीति मस्यौदा समितिका विज्ञ हिरेन्द्र शाहीले कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रमा अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा पुस्तकालयका अध्यक्ष एकराज शर्मा, कार्यालय प्रमुख जानकी सापकोटा, कर्मचारी शिवध्वज शाही, स्वामी ढुण्डिराज भट्टराई लगायत पुस्तकालयसँग आबद्ध व्यक्तिहरूको सहभागिता रहेको थियो। अन्तरक्रियाका क्रममा अध्यक्ष शर्माले सामुदायिक पुस्तकालय सञ्चालन, त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेको अनुभव तथा पाठ्यपुस्तक लेखनबाट हासिल ज्ञानका आधारमा नीति मस्यौदाका लागि महत्वपूर्ण सुझाव प्रस्तुत गरे।

उनले राष्ट्रिय पुस्तकालयसम्बन्धी कानुनी व्यवस्था सुदृढ गर्ने, दिगो आर्थिक स्रोत सुनिश्चित गर्ने, डिजिटल पुस्तकालयको विकास गर्ने, दक्ष जनशक्ति व्यवस्थापन गर्ने, सामुदायिक पुस्तकालयलाई स्थानीय ज्ञान तथा अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने, सबै नागरिकको समान पहुँच सुनिश्चित गर्ने, स्थानीय भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने तथा विद्यालय र पुस्तकालयबीच सहकार्य विस्तार गरी राष्ट्रिय पुस्तकालय सञ्जाल निर्माणलाई प्राथमिकता दिनुपर्ने धारणा राखे।

यसैगरी, पुस्तकालय सेवा आयोग गठन गरी कर्मचारीका लागि स्थायी तथा अस्थायी दरबन्दीको व्यवस्था गर्नुपर्ने, नियमित अनुगमन, मूल्यांकन र प्रोत्साहनको नीति लागू गर्नुपर्ने, पुस्तकालयकर्मीको न्यूनतम पारिश्रमिक नेपाल सरकारका खरिदार सरह निर्धारण गर्नुपर्ने तथा विश्वविद्यालय बाहेकका विधामा प्रकाशित पुस्तकहरू राष्ट्रिय पुस्तकालयमार्फत दर्ता गर्ने व्यवस्था मिलाउनुपर्ने सुझाव पनि प्रस्तुत गरिएको थियो । स्थानीय तह वा नजिकको पुस्तकालयको सिफारिसका आधारमा स्थानीय प्रकाशन दर्ता गर्ने प्रणाली विकास गर्नुपर्नेमा समेत जोड दिइएको थियो ।

विज्ञ हिरेन्द्र शाहीले प्राप्त सुझावहरू राष्ट्रिय पुस्तकालय नीति–२०८३ लाई थप प्रभावकारी बनाउन उपयोगी हुने विश्वास व्यक्त गर्दै सामुदायिक पुस्तकालयहरूले स्थानीय ज्ञान संरक्षण, अध्ययन, अनुसन्धान तथा सामाजिक रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे।

ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले आफूहरूले दिएका सुझाव नीति निर्माण प्रक्रियामा समावेश हुने अपेक्षा व्यक्त गर्दै सहभागिताको अवसर प्रदान गरेकोमा नेपाल सरकार तथा विज्ञ हिरेन्द्र शाहीप्रति आभार व्यक्त गरेको छ।

कोहलपुरको कार्यक्रमपछि विज्ञ शाहीले नेपालगन्जस्थित महेन्द्र पुस्तकालय मा पुगेर अध्यक्ष बलराम यादव, सचिव सतीश निरौला, सल्लाहकार डा. हरिप्रसाद तिमिल्सिना लगायत पदाधिकारी, पुस्तकालयकर्मी तथा सरोकारवालासँग पनि नीति मस्यौदाबारे छलफल र सुझाव संकलन गरेका थिए।

यसैबीच, शाहीले सामाजिक सञ्जालमार्फत कोहलपुरको ज्ञानोदय सामुदायिक पुस्तकालय र नेपालगन्जको महेन्द्र पुस्तकालयमा सम्पन्न अन्तरक्रियाबाट राष्ट्रिय पुस्तकालय नीतिमा समेटिनुपर्ने धेरै महत्वपूर्ण र व्यावहारिक सुझाव प्राप्त भएको उल्लेख गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने ज्ञानोदयका अध्यक्ष एकराज शर्मा र महेन्द्र पुस्तकालयका सचिव सतीश निरौलाप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ साउन १९ गते मंगलबार