सुदाम शर्मा, कर्णाली व्युरो प्रमुख ।
सुर्खेत, असार १ गते । मध्यपश्चिम विश्वविद्यालयको आसन्न वार्षिकोत्सव, विश्वविद्यालय सभा तथा दीक्षान्त समारोहको पूर्व सन्ध्यामा सोमवार वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ ।

विश्वविद्यालयको स्थापना दिवसकै दिन असार ३ गते हुने १८ औँ विश्वविद्यालय सभा र चौथो दीक्षान्त समारोहका बारे जानकारी दिन सञ्चार तथा प्रचारप्रसार समितिद्वारा सञ्चारकर्मीहरुको उल्लेख्य उपस्थितिमा पत्रकार सम्मेलन सम्पन्न गरिएको हो ।

सम्मेलनमा उपकुलपति प्रा. डा. नारायणप्रसाद पौडेलले आगामी असार ३ गते आयोजना हुने उक्त समारोहको तयारी, उद्देश्य, सहभागिता तथा व्यवस्थापनका विविध पक्षबारे पत्रकारका जिज्ञासा उपर सम्बोधन गरेका थिए ।

उक्त सम्मेलनको अध्यक्षता गरेका प्रचारप्रसार उपसमितिका संयोजक एवम् योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले विश्वविद्यालयको आगामी आ. व. ०८३/०८४ को लागि बजेट, कार्यक्रम पारित हुने र ग्रेस लिष्टमा रहेका विभिन्न ग्र्याजुएट स्कूलका कूल १९ सय २८ जना विद्यार्थी दीक्षित हुने बताए । उनका अनुसार स्नातक तहमा १२ सय २२ जना, स्नातकोत्तर तहमा ६ सय ९४ जना र दर्शनाचार्य तहमा १२ गरी १९ सय २८ जना दीक्षित हुनेछन् ।

कार्यक्रमको सञ्चालन प्रचारप्रसार उपसमितिका सदस्य एवम् विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले गरेका थिए ।
कार्यक्रममा पत्रकारहरुका जिज्ञासा उपर उपकुलपति प्रा. डा. पौडेल सहित संयोजक डा. खड्का र अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले जवाफ दिएका हुन ।


प्रचारप्रसार उपसमितिमा डा. खड्काको संयोजकत्वमा उपप्रा. त्रिभुवन वि. सी., उपप्रा. पञ्चदेव भट्ट, प्रशासन अधिकृत शेरबहादुर केसी र लक्ष्मीप्रसाद बाँस्तोला सदस्य रहेको पाँच सदस्यीय समिति रहेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्