कोहलपुर नगरपालिकाबाट कृत्रिम अंग पाएपछि सहज बन्दै दैनिकी




कोहलपुर । केही वर्षअघि भएको सवारी दुर्घटनाले उमेश थापाको जीवनको दिशा नै बदलिदिएको थियो । कोहलपुर नगरपालिका–१ निवासी थापाको दायाँ हात दुर्घटनामा चुँडिएपछि दैनिक कामकाजदेखि आत्मनिर्भर जीवनयापनसम्म चुनौतीपूर्ण बनेको थियो । तर बुधबार कृत्रिम हात पाएपछि उनको अनुहारमा फेरि मुस्कान फर्किएको छ ।

‘अब धेरै काम आफैं गर्न सकिन्छ भन्ने विश्वास जागेको छ’ उनले खुसी व्यक्त गरे । थापाजस्तै कोहलपुर नगरपालिका–१५ का इन्दल यादवले पनि दुर्घटनामा दायाँ खुट्टा गुमाएका थिए । खुट्टा गुमाएपछि सामान्य हिँडडुलसमेत कठिन बनेको थियो । कृत्रिम खुट्टा पाएपछि भने उनी पनि उत्साहित छन् । ‘पहिलेभन्दा धेरै सहज भएको छ, अब हिँड्न र काम गर्न आत्मविश्वास बढेको छ’ उनले भने ।

थापा र यादव उदाहरण मात्रै हुन् । कृत्रिम अंग र सहायक सामग्रीको सहयोगले उनीहरुको शारीरिक आवश्यकता मात्र पूरा गरेको छैन, यसले लाभग्राहीहरुमा हराउँदै गएको आत्मविश्वास र आत्मनिर्भरताको भावना पनि पुनर्जीवित गरेको छ ।

कोहलपुर नगरपालिकाले बुधवार ११ जना अपांगता भएका व्यक्तिलाई कृत्रिम हातखुट्टा वितरण गरेपछि उनीहरुको दैनिक जीवनयापनमा सहजता आएको छ ।

शारीरिक सीमितताका कारण लामो समयदेखि विभिन्न कठिनाइ झेलिरहेका लाभग्राहीहरुका लागि यो सहयोग नयाँ आशाको आधार बनेको छ ।

कोहलपुर नगरपालिकाले अपांगता भएका व्यक्तिहरुका लागि सहायक सामग्री वितरण कार्यक्रम आयोजना गर्दै ३० जनालाई ह्विलचियरसमेत उपलब्ध गराएको छ । महिला तथा बालबालिका शाखा प्रमुख तारा भण्डारीका अनुसार ह्विलचियर हुमेन फाउण्डेसनको सहयोगमा राष्ट्रिय अपांग कोषमार्फत प्राप्त भएका हुन् ।

त्यसैगरी भारतको राजस्थानस्थित जयपुरमा रहेको भगवान विकलांग सहायता समितिले ११ जनालाई निःशुल्क कृत्रिम अंग उपलब्ध गराएको हो । चालु आर्थिक वर्षमा विनियोजित करिब सवा तीन लाख रुपैयाँको बजेटबाट लाभग्राहीहरुलाई जयपुर लगेर नापजाँच तथा आवश्यक व्यवस्थापन गरिएको थियो । कृत्रिम अंग निःशुल्क भए पनि यात्रादेखि बसोबाससम्मको खर्च कोहलपुर नगरपालिकाले व्यहोरेको थियो ।

नगरपालिकाका अनुसार भगवान विकलांग सहायता समितिले बैशाखी, वाकर, सेतो छडी लगायत करिब २० लाख रुपैयाँ बराबरका सहायक सामग्रीसमेत सहयोग गरेको छ । ती सामग्री आवश्यकता र प्राथमिकताका आधारमा वितरण गरिनेछ ।

सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विकको अध्यक्षतामा आयोजित कार्यक्रममा नगर उपप्रमुख संगिता सुवेदीले सहायक सामग्री हस्तान्तरण गर्दै अपांगता भएका व्यक्तिहरुको दैनिक जीवनलाई सहज बनाउन यस्ता सामग्री प्रभावकारी हुने बताइन् ।

उनले नगरपालिकाले सहायक सामग्री वितरणसँगै आयआर्जन र आत्मनिर्भरताका लागि आवश्यकताअनुसार सीपमूलक तालिमसमेत सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

राष्ट्रिय अपांग कोषका सदस्य सचिव भीमा खतिवडाले अपांगता भएका व्यक्तिहरुको जीवनस्तर सुधारका लागि कोषले विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आएको बताइन् ।

कार्यक्रममा हुमेन फाउण्डेसनका कन्ट्री डाइरेक्टर पार्क टि योङ, आर्थिक विकास समितिका संयोजक अनिता बुढा, सुशासन समितिका संयोजक सुनिता विष्ट लगायतको उपस्थिति रहेको थियो । अपांग समन्वय समितिका संयोजक विनिता शर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन शाखा प्रमुख तारा भण्डारीले गरेकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २५ गते सोमबार