
बैजनाथ । बैजनाथ गाउँपालिका वडा नं. १, चिसापानीमा सर्पदंश सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। चिसापानी साना किसान कृषि सहकारी संस्था लिमिटेडको आर्थिक सहयोग, चिसापानी स्वास्थ्य चौकीको समन्वय तथा रोटरी क्लब अफ काठमाडौं कलंकी र रोटर्याक्ट क्लब अफ नेपालगञ्ज मेडिकल कलेजको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रमको उद्घाटन बैजनाथ गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर शाहीले गर्नुभएको थियो। कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष निर्मला रोकाय, वडा अध्यक्षहरू तथा बैजनाथ गाउँपालिका वडा नं. १ देखि ८ सम्मका स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा नेपालमा पाइने विभिन्न प्रजातिका सर्प, विषालु तथा अविषालु सर्पको पहिचान, सर्पदंशको वर्तमान अवस्था तथा जोखिमबारे जानकारी प्रदान गरिएको थियो। साथै वर्षायाममा सर्पदंशका घटना बढ्ने भएकाले घर, गोठ तथा वरपरको वातावरण सफा राख्ने, झाडी नियन्त्रण गर्ने, रातिको समयमा टर्चको प्रयोग गर्ने तथा सुरक्षित जुत्ता लगाउने जस्ता सावधानीका उपायबारे समेत जानकारी दिइएको थियो।
कार्यक्रमका प्रशिक्षकहरूले सर्पले टोकेपछि अपनाउनुपर्ने प्राथमिक उपचारबारे विस्तृत जानकारी दिँदै झारफुक वा अन्धविश्वासको भर नपर्न आग्रह गरेका थिए। सर्पदंश भएपछि बिरामीलाई शान्त राख्ने, अनावश्यक हिँडडुल गर्न नदिने र सकेसम्म छिटो नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पुर्याउनुपर्नेमा जोड दिइएको थियो।

सहभागीहरूले कार्यक्रमबाट सर्पदंश सम्बन्धी सही जानकारी प्राप्त भएको र यसले समुदायमा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए। कार्यक्रमले सर्पदंशबाट हुने जोखिम न्यूनीकरण तथा समयमै उपचारमा पहुँच बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्