कोहलपुरमा होटलहरूको खाद्य स्वच्छता मूल्याङ्कन : सेन्ट्रल प्लाजालाई ३ स्टार, सुनाखारीलाई १ स्टार




कोहलपुर । कोहलपुर नगरपालिकाले खाद्य स्वच्छता तथा गुणस्तर मापन अभियानलाई तीव्रता दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके, कोहलपुर नगरपालिका तथा होटल व्यवसायी संघ कोहलपुरको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा विभिन्न होटल तथा पार्टी प्यालेसहरूको खाद्य स्वच्छता स्तर मूल्याङ्कन गरिएको हो।

अनुगमनपछि होटेल सेन्ट्रल प्लाजालाई खाद्य स्वच्छता मापदण्डको उत्कृष्ट पालना गरेको आधारमा ३ स्टार स्टिकर प्रदान गरिएको छ। अनुगमन टोलीका अनुसार होटलले खाद्य पदार्थको भण्डारण, सरसफाइ, भान्साको व्यवस्थापन, कर्मचारीको व्यक्तिगत स्वच्छता तथा सेवा प्रवाहका अधिकांश सूचकमा उच्च अंक प्राप्त गरेको  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके अनुगमन अधिकृत नेत्रा बाेगटीले बताइन् ।

उनका अनुसार सुनाखारी होटल एण्ड पार्टी प्यालेसलाई भने मापदण्डका विभिन्न सूचकहरूमा सुधार आवश्यक रहेको निष्कर्षसहित १ स्टार स्टिकर प्रदान गरिएको बताइन्। अनुगमन टोलीले होटल व्यवस्थापनलाई खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्डहरू सुधार गर्न निर्देशनसमेत दिइएकाे थियाे ।

कोहलपुर नगरपालिकाका बजार अनुगमन समितिका संयोजक अग्नि प्रसाद आचार्यले खाद्य स्वच्छता मूल्याङ्कन कार्यक्रम उपभोक्तालाई सुरक्षित तथा गुणस्तरीय सेवा सुनिश्चित गर्ने उद्देश्यले सञ्चालन गरिएको बताए। उनले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई निर्धारित मापदण्ड पूर्णरूपमा पालना गर्न आग्रह गर्दै आगामी दिनमा पनि नियमित अनुगमन जारी रहने बताए ।

पछिल्लो समय कोहलपुर क्षेत्रमा बजार अनुगमन, खाद्य गुणस्तर परीक्षण तथा स्वच्छता मापन कार्यलाई प्रभावकारी बनाइएको छ भने नगरपालिकाले उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै व्यवसायीहरूलाई जिम्मेवार बनाउन र सेवा गुणस्तर सुधार गर्न यस्तो अभियानलाई निरन्तरता दिएको  संयोजक आचार्यले बताए  ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ २२ गते शुक्रबार