कोहलपुरमा विद्यालय सुरक्षा र विपद तयारी सम्बन्धी दुईदिने कार्यक्रम सकियो




कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा रहेका सामुदायिक विद्यालयका विपद फोकल शिक्षकहरुलाई विद्यालय सुरक्षा सम्बन्धी दुईदिने कार्यक्रम सकिएको छ ।

सोमबारबाट सुरु भएको सो कार्यक्रम कोहलपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष तथा विपद व्यवस्स्थापनका सदस्य लाल बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक विकास समिति संयोजक ईश्वरी विश्वकर्माको प्रमुख अतिथि रहेका थिए ।

विद्यालयहरूमा विपद् जोखिम न्यूनीकरण तथा सुरक्षित शैक्षिक वातावरण निर्माणमा सहयोग पु¥याउने लक्ष्यका साथ कार्यक्रम सुरु गरिएको थियो ।

यस्तै कार्यक्रममा सहभागि प्रशिक्षार्थी कल्पना कुमारी पौडेलले विपद् व्यवस्थापनका लागि केवल सैद्धान्तिक ज्ञान मात्र पर्याप्त नहुने बताउँदै आवश्यक सामग्री र स्रोतसाधनको उपलब्धता सुनिश्चित गर्नुपर्ने धारणा राखेकी थिइन् ।

व्यवहारिक तयारी र आवश्यक उपकरणबिनाको ज्ञानले मात्र विपद् व्यवस्थापन प्रभावकारी हुन नसक्ने बताइन् ।

यस्तै कार्यक्रममा सहभागि प्रशिक्षार्थी टिकाराम आचार्यले विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र शिक्षकबीच समन्वय र सहकार्य भएमा विद्यालय सुरक्षा कार्यक्रम अझ प्रभावकारी बन्ने बताए । सबै पक्षलाई सँगै राखेर योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

कोहलपुर नगर शिक्षा शाखाका अधिकृत विष्णु बहादुर शाहीले विद्यालय सुरक्षा योजना तथा सिकाइलाई व्यापक रूपमा साझा गर्नुपर्ने बताए । साना–साना प्रयास र सुधारहरूले भविष्यमा दीर्घकालीन तथा सकारात्मक परिणाम दिने उनले बताए ।

यस्तै सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विश्वकर्माले विद्यालयमा विपद् प्रतिकार्य योजना कार्यान्वयनका अनुभव प्रस्तुत गर्दै जिम्मेवारीअनुसारको काम इमान्दारितापूर्वक पूरा गर्नुपर्ने बताए । उनले विपद्का समयमा सबैको भूमिका स्पष्ट भएमा क्षति न्यूनीकरण गर्न सहज हुने धारणा व्यक्त गरे ।

प्रशिक्षकहरुका रुपमा रुपन ज्ञावली, राजु अधिकारी, शिशिर गुरुङ, पुष्पराज शाहीलगायत प्रशिक्षकहरूले सहजीकरण गरेका थिए ।

कार्यक्रमको पहिलो दिन विद्यालय सुरक्षा अवधारणा, जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण, हरित विद्यालय तथा विद्यालय सुरक्षासम्बन्धी नीति व्यवस्थाबारे अवगत गराइएको थियो ।

कार्यक्रमको दोस्रो दिन विद्यालय सुरक्षा अभ्यास (ड्रिल), विद्यालय सुरक्षा कार्ययोजना निर्माण, सिकाइ निरन्तरता योजना, प्रारम्भिक सूचना प्रणाली गठन तथा सुरक्षित स्थान र उद्धार मार्ग व्यवस्थापनका विषयमा प्रशिक्षण गरिएको थियो ।

कार्यक्रममा यूनिसेफका ईन्जिननियर राज कुमार अधिकारी, वडा नं. १० का वडा अध्यक्ष गौरा भट्टराई लगायत नगर प्रहरी कार्यक्रममा सहभागि भएको थियो भने प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ १९ गते मंगलबार