रुकुममा पहिलोपटक आयोजित बहुविषयक राष्ट्रिय सम्मेलन सम्पन्न




शेर बहादुर के सि : सूचना अधिकारी मध्यपश्चिम विश्वविद्यालय ।

रुकुम पश्चिम, जेठ १६ गते । रुकुम पश्चिम स्थित मुसिकोट खलंगा बहुमुखी क्याम्पसद्वारा पहिलोपटक आयोजना गरिएको दुई दिने बहुविषयक राष्ट्रिय सम्मेलन भव्य रूपमा सम्पन्न भएको छ ।

कर्णालीमा शैक्षिक गुणस्तर र समावेशी शिक्षाका लागि उच्च शैक्षिक संस्थाको भूमिका भन्ने मूल नाराका साथ शुक्रवारबाट सुरु भएको सो सम्मेलन अनुसन्धानका विविध आयाममाथि विमर्श गर्दै शनिवार सम्पन्न भएको हो ।


भर्चुअल रुपमा समापन कार्यक्रमलाई सुर्खेत स्थित कार्यकक्षबाट सम्बोधन गर्दै मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नारायण प्रसाद पौडेलले सम्मेलनबाट प्राप्त निष्कर्षले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिसँगै समाज रूपान्तरणमा योगदान पुर्‍याउने बताए

उनले अनुसन्धान संस्कृति विकास गर्दै विश्वविद्यालय र समाजबीचको सम्बन्धलाई थप सुदृढ बनाउन यस्ता कार्यक्रम सहयोगीसिद्ध बन्ने बताए । उपकुलपति पौडेलले उक्त सम्मेलनलाई प्राज्ञिक यात्रामा महत्वपूर्ण फड्कोको संज्ञा दिए ।


कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत ग्र्याजुएट स्कूल अफ साइन्स एण्ड टेक्नोलोजीका डीन सहप्रा. डा. दिपकराज अधिकारी, त्रिभुवन विश्वविद्यालयका प्रा. डा. दीनबहादुर थापा, सम्मेलन आयोजक समितिका संयोजक एवम् पूर्व क्याम्पस प्रमुख बुद्धिप्रसाद गौतम र विश्वविद्यालयका सूचना अधिकारी एवम् पूर्व विद्यार्थी समाज मुसिकोट क्याम्पसका सचिव शेरबहादुर केसीले निर्धारित उद्देश्य अनुरुप सम्मेलन सफल भएको बताए ।
क्याम्पस प्रमुख डम्बरबहादुर खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पूर्व क्याम्पस प्रमुख मुकुन्दप्रसाद शर्माले गरेका थिए ।


विश्वविद्यालय अनुदान आयोगको सहयोग तथा विभिन्न स्थानीय तह र शैक्षिक संस्थाको सहकार्यमा सम्पन्न सम्मेलनमा देशभरका अनुसन्धानकर्ता, प्राध्यापक तथा विज्ञहरूको भौतिक र भर्चुअल सहभागिता रहेको थियो। सम्मेलनमा दोस्रो दिन मध्यपश्चिम विश्वविद्यालय ग्राजुएट स्कूल अफ ह्यूमानिटिजका डीन सहप्रा. डा. आनन्दप्रसाद सुवेदी, मोर्गन स्टेट युनिभर्सिटी अमेरिकाका प्राध्यापक डा. उत्तम गौली र मध्यपश्चिम विश्वविद्यालयका प्रा. डा. चन्द्रप्रसाद रिजालले प्रमुख वक्ताका रुपमा र अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवाली, पूर्व कार्यकारी निर्देशक डा. सुशीलकुमार शाही र डा. रेशमबहादुर विष्टले वक्ताका रुपमा भर्चुअल माध्यमबाट विचार प्रदान गरेको भर्चुअल माध्यामबाट सहभागी वागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका उपप्राध्यापक एकराज शर्माले कोहलपुर टुडे लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८३ जेठ १६ गते शनिबार