
भारतको उत्तर प्रदेशस्थित सहारनपुरमा आयोजना भएको “१ औं अन्तर्राष्ट्रिय इन्टिग्रल फाइटिंग ट्रेनिङ सेमिनार तथा इन्डो–नेपाल च्याम्पियनसिप २०२६” मा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उच्च बनाएका छन् ।
इन्डियन इन्टिग्रल फाइटिंग एसोसिएसन, उत्तर प्रदेश भारतको आयोजनामा मे २ देखि मे ५ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालसहित विभिन्न देशका खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा नेपाली खेलाडीहरूले उत्कृष्ट खेल प्रदर्शन गर्दै पदक तथा उपाधि जित्न सफल भएका हुन् ।
महिला सिनियरतर्फ बाँकेको कोहलपुर–१२, चप्परगौडी निवासी विष्णु गिरीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । उनले प्रतियोगिताभर आत्मविश्वासपूर्ण र दमदार खेल प्रस्तुत गर्दै उपाधि आफ्नो नाममा सुरक्षित गरिन् । विष्णुगिरीले विगत लामो समयदेखि खेल क्षेत्रमा लागेर लगातार विभिन्न पदक तथा नेपाललाई जिताउँदै आएकी छिन्। यो सफलता नेपाली महिला खेलाडीहरूका लागि प्रेरणादायी उपलब्धिका रूपमा हेरिएको छ ।
त्यस्तै, जुनियर महिला तर्फ पनि बाँकेको कोहलपुर–१२, चप्परगौडी निवासी सुजता गिरीले शानदार प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकी छन् । कम उमेरमै अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउन सफल भएकी हुन् ।
यसैबीच, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकि विष्णु गिरी र सुजता गिरीलाई मेडल, प्रमाणपत्र तथा ट्रफी सहित सम्मानित गरिएको थियो । आयोजक संस्थाले उनीहरूको उत्कृष्ट खेल प्रदर्शनको कदर गर्दै सम्मान स्वरूप उक्त पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरेको जनाएको छ ।
प्रतियोगितामा सहभागी नेपाली खेलाडीहरूले फाइनलसम्म पुगेर उत्कृष्ट खेल प्रदर्शन गरेका थिए । उनीहरूको सफलताले नेपाली मार्सल आर्ट्स क्षेत्रलाई थप ऊर्जा र प्रेरणा प्रदान गरेको छ ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीहरूको उत्कृष्ट उपलब्धिप्रति सामाजिक सञ्जालमा बधाई तथा शुभकामनाको ओइरो लागेको छ । खेलप्रेमीहरूले विष्णु गिरी र सुजता गिरीको सफलतालाई नेपाली खेलकुद क्षेत्रको गौरवपूर्ण उपलब्धि बताएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्