
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाले शिक्षकहरुलाई शैक्षिक सामग्री निर्माण कार्यशाला तथा क्षमता विकास तालिममा सिकेका विषयहरुलाई व्यवहारिक र प्रयोगात्मक दुवै पूर्ण रुपमा कार्यान्वयन गर्ने बताएका छन् ।
कार्यशालामा सहभागी जन ज्ञानज्योति माविका शिक्षक विश्वमणी अधिकारीले आफूले ३० वर्षको शिक्षण यात्रामा लिएका धेरै तालिमहरूमध्ये यो कार्यशाला सबैभन्दा उत्कृष्ट, उपयोगी र प्रभावकारी लागेको अनुभव सुनाए । तालिमले शिक्षण पद्धतिलाई व्यवहारिक, प्रयोगात्मक र विद्यार्थीमैत्री बनाउने स्पष्ट मार्गदर्शन दिएको बताए ।
कक्षा कोठामा के हुनुपर्छ ?, सिकाइ वातावरण कसरी निर्माण गर्ने ?, विद्यार्थीलाई जटिल विषयवस्तु कसरी सरल ढंगले बुझाउने ?, तथा उनीहरूको सहभागिता कसरी बढाउने ? भन्ने विषयमा आफूले नयाँ दृष्टिकोण पाएको उनको भनाइ थियो ।
शैक्षिक सामग्री तयार गर्दा कुन विषयमा कस्तो सामग्री बनाउने, कसरी प्रयोग गर्ने र त्यसलाई सिकाइसँग कसरी जोड्ने भन्ने विषयमा समेत स्पष्टता आएको अधिकारीले बताए । तालिमबाट सिकेका सम्पूर्ण ज्ञान, सीप र विधिहरूलाई कक्षा कोठामा पूर्ण रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले यसबाट विद्यार्थीहरूको शैक्षिक उपलब्धि उल्लेखनीय रूपमा वृद्धि हुनेमा विश्वास व्यक्त गरे ।
यस्तै व्रिज इन्टरनेशनल स्कुलका गोविन्द शर्माले विगतमा सहभागी भएका विभिन्न तालिमहरूको तुलनामा यो तालिम निकै प्रभावकारी र लाभदायिक भएको बताए ।
गणित विषय कक्षा कोठामा विद्यार्थीलाई बुझाउन केही असहज हुने गरेको अनुभव सुनाए । तर यस तालिममा सिकाइएका व्यवहारिक, सरल र प्रयोगात्मक विधिहरूले अब शिक्षण प्रक्रियालाई सहज, रोचक र परिणाममुखी बनाउने विश्वास व्यक्त गरे ।
तालिमबाट प्राप्त सीप र ज्ञानले विद्यार्थीहरूको सिकाइ उपलब्धि बढाउन महत्वपूर्ण सहयोग पुग्ने उनको भनाइ थियो ।

यस्तै शिक्षक महासंघ कोहलपुरका अध्यक्ष निम प्रकाश थापाले गणित र विज्ञान विषयमा अपेक्षाकृत शैक्षिक उपलब्धि कम देखिने भएकाले त्यसलाई सुधार गरी उत्कृष्ट नतिजा हासिल गर्ने उद्देश्यले यो तालिम सञ्चालन गरिएको बताए ।
धेरै विद्यार्थीले जटिल र चुनौतीपूर्ण रूपमा लिने गरेकाले शिक्षण पद्धतिमा सुधार, व्यवहारिक अभ्यास र प्रभावकारी शैक्षिक सामग्रीको प्रयोग आवश्यक रहेको उल्लेख गरे ।
कोहलपुरमा सामुदायिक तथा संस्थागत विद्यालयका शिक्षकहरूलाई एउटै स्थानमा राखेर पहिलो पटक संयुक्त रूपमा यस्तो तालिम आयोजना गरिएको बताउँदै उनले यसलाई सकारात्मक सुरुवातको रूपमा व्याख्या गरे ।
दुवै विद्यालयले दिने भनेको शिक्षा नै भएकाले गुणस्तरीय शिक्षाका लागि सहकार्य, समन्वय र साझा प्रयास अपरिहार्य रहेको उनको भनाइ थियो । सबै शिक्षक, विद्यालय र सरोकारवालाहरू एकजुट भई अघि बढेमा कोहलपुरलाई उत्कृष्ट शैक्षिक केन्द्र तथा शैक्षिक हबका रूपमा विकास गर्न सकिने विश्वास समेत उनले व्यक्त गरे ।
यस्तै कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शिक्षकहरूको पेशागत दक्षता वृद्धि हुनुका साथै विद्यार्थीको सिकाइ उपलब्धि उत्कृष्टता आउने विश्वास व्यक्त गरे । कार्यशालाबाट प्राप्त सीप र ज्ञान विद्यालयमा पूर्ण रुपमा लागू गर्दै शिक्षणलाई अझ प्रभावकारी बनाउने नगर प्रमुख आचार्यले आग्रह गरे ।
समापन कार्यक्रमका सभाध्यक्ष तथा सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा रहेका थिए । तालिमको पहिलो चरण १० गतेदेखि १२ गतेसम्म सञ्चालन भएको थियो भने दोस्रो चरण १३ बैशाख गतेदेखि १५ गतेसम्म सञ्चालन हुनेछ ।
कार्यशालालाई गणित तथा विज्ञान विषयका अनुभवी प्रशिक्षक पशुपति श्रेष्ठ (विज्ञान) र देवराज गुरुङ्ग (गणित) ले दुवै (पहिलो चरण र दोस्रो चरण) सहजीकरण गरेका थिए । यस्तै यस्तै कार्यशालालाई क्रिसा बाँकेका अध्यक्ष ओपेन्द्र केसीले संयोजकन गरेका थिए भने जीवज्योति माध्यमिक विद्यालयले सो कार्यशाला तथा तालिमका लागि हल तथा लजिस्टिक व्यवस्थापन गरेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्