क्रिसा बाँकेको ७औं अधिवेशनबाट सर्वसम्मत ओपेन्द्र केसी चयन





कोहलपुर ।
क्रिसा बाँकेको ७ औं अधिवेशनबाट सर्वसम्मत ओपेन्द्र केसी चयन भएका छन् । आइतबार द गार्डेन रिसोटमा भएको विशेष अधिवेशनबाट केसीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

नव निर्वाचित कार्यसमितिको उपाध्यक्षमा नारायण पङ्गेनी, सचिवमा लोकेन्द्र बहादुर चन्द र कोषाध्यक्षमा धन बहादुर शाही चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा कर्ण बहादुर कैनी, राजिव सुवेदी र कल्पना पौडेल निर्वाचित भएका हुन् ।

यस्तै क्रिसा बाँकेका पूर्व अध्यक्ष वेगम चन्दले नवनिर्वाचित अध्यक्ष केसीलाई माइन्यूट हस्तान्तरण गर्दै संगठनको नेतृत्व बलियो भएर लाग्नुपर्ने र संगठन नरहने अवस्थाबाट पूनः स्थापित गर्दा आफूले भोगेका दुःख, कष्ट, मेहिनत र परिश्रमका बारेमा स्मरण गराएका थिए ।

त्रिसा बाँकेको नेतृत्व हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष वेगम चन्दले नवनिर्वाचित अध्यक्ष केसीलाई माइन्यूट हस्तान्तरण गर्दै संगठनप्रति आफ्नो गहिरो अनुभव, संघर्ष र प्रतिबद्धताको स्मरण गराएका थिए ।

चन्दले संगठनको नेतृत्व केवल पद प्राप्त गर्नु मात्र नभई जिम्मेवारी, अनुशासन र निरन्तर समर्पणको विषय भएको स्पष्ट पार्दै नयाँ नेतृत्वलाई संगठनलाई अझ मजबुत, व्यवस्थित र प्रभावकारी बनाउन दृढतापूर्वक लाग्न आग्रह समेत गरेका थिए ।

चन्दले आफ्नो कार्यकाल सम्झिँदै एक समय संगठन नै कमजोर अवस्थामा पुगेको, अस्तित्व जोगाउन चुनौतीपूर्ण परिस्थिति सिर्जना भएको र सदस्यहरूको मनोबल खस्किएको अवस्थालाई पुनर्जीवित गर्न आफूले निकै संघर्ष गर्नुपरेको बताए ।

‘संगठन जोगाउन र पुनः स्थापित गर्न हामीले रातदिन नभनी काम ग¥यौं’ उनले भने, ‘विभिन्न चुनौतीहरू पार गर्दै सदस्यहरूलाई एकताबद्ध बनायौं ।’ त्यस अवधिमा भोगेका दुःख, कष्ट, निराशा र अनेक अवरोधहरूको चर्चा गर्दै ती अनुभवहरू नै संगठनलाई आजको अवस्थामा ल्याउन आधार बनेको चन्दले बताए ।

‘नेतृत्वमा आउनु भनेको अवसर मात्र होइन, ठूलो जिम्मेवारी पनि हो ।’ उनले थपे, संगठनलाई बलियो बनाउन सबैको विश्वास जित्नुपर्छ, पारदर्शिता कायम गर्नुपर्छ र टिमवर्कलाई प्राथमिकता दिनुपर्छ ।’ आफ्नो व्यक्तिगत स्वार्थभन्दा संगठनको हितलाई माथि राखेर काम गर्नुपर्ने आवश्यकता औंल्याउँदै एकता, सहकार्य र समन्वयलाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए ।

चन्दले नवनिर्वाचित अध्यक्ष केसी तथा सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आफू सधैं संगठनको हितमा सहयोग गर्न तयार रहेको बताए । उनले संगठनप्रति आफ्नो लगाव कहिल्यै नघट्ने उल्लेख गर्दै आगामी दिनमा पनि आवश्यक परेमा अनुभव र सुझाव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस्तै नवनिर्वाचित अध्यक्ष केसीले संगठनको नेतृत्व सम्हाल्दै विधि, विधान र सदस्यहरूको हक–हितलाई केन्द्रमा राखेर काम गर्ने स्पष्ट प्रतिबद्धता व्यक्त गरेका थिए । पदभार ग्रहणपछि आफ्नो धारणा राख्दै उनले संगठनलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउने मुख्य प्राथमिकता रहने बताए । ‘हाम्रो पहिलो दायित्व भनेको संगठनको विधि र विधानको पूर्ण कार्यान्वयन हो, र हामी सधैं सदस्यहरूको पक्षमा दृढतापूर्वक वकालत गर्नेछौं’ उनले भने ।

अध्यक्ष केसीले संगठनको सुदृढीकरणका लागि एकता, सहकार्य र सक्रिय सहभागिता अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै सम्पूर्ण सदस्यहरूलाई साझा उद्देश्यका साथ अघि बढ्न आग्रह गरेका छन् । ‘संगठन बलियो भए मात्र हामीले उठाएका आवाजहरू प्रभावकारी बन्छन्, त्यसैले सबै मिलेर संगठनलाई नयाँ उचाइमा पु¥याउन आवश्यक रहेको उनले जोड दिए ।

नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहणसँगै केही महत्वपूर्ण निर्णयहरू पनि गरेको अध्यक्ष केसीले जानकारी दिए । पहिले बधाई ज्ञापन, दोस्रो आगामी शैक्षिक सत्रलाई लक्षित गर्दै बैशाख २ गतेबाट भर्ना प्रक्रिया सुरु गर्ने र बैशाख १५ गतेबाट नियमित पठनपाठन सञ्चालन गर्ने स्थानिय तहसंग समन्वय गर्ने र संगठनको दीर्घकालीन सुधार र सुदृढीकरणका लागि क्रिसा बाँकेको विधान संशोधन गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको केसीले बताए ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत २९ गते आइतबार