कौशल्या मेमोरियल अस्पतालमा ड्युटीमा गएका स्वास्थ्यकर्मी प्रकाश १४ दिनदेखि बेपत्ता




नेपालगन्ज : ड्युटी गर्न अस्पताल पुगेका एक स्वास्थ्यकर्मी १४ दिनदेखि सम्पर्कविहीन भएपछि परिवार र आफन्तहरू चिन्तित बनेका छन्। नेपालगन्ज उपमहानगरपालिका–६ निवासी २६ वर्षीय प्रकाश रसाईली कोहलपुरस्थित कौशल्या मेमोरियल अस्पतालमा हेल्थ असिस्टेन्ट (एचए) पदमा कार्यरत थिए।

विगत तीन वर्षदेखि उक्त अस्पतालमा कार्यरत रहेका रसाईली चैत १३ गते बेलुका ड्युटीमा जाने भन्दै घरबाट निस्केका थिए। परिवारका अनुसार, उनले रातको ड्युटी सकेपछि भोलिपल्ट चैत १४ गते बिहान करिब १० बजे अस्पतालका कर्मचारीलाई ‘बाहिर जान्छु’ भन्दै निस्केका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएका छन्।

उनकी श्रीमती रञ्जना राईका अनुसार प्रकाश अस्पतालबाट निस्कँदा आफ्नो स्कुटर र चाबीसमेत साथमा लिएका थिएनन्। “अस्पतालका कर्मचारीले जानकारी दिएअनुसार उहाँ स्कुटर नै नलिई बाहिर जानुभयो। त्यसपछि कहाँ जानुभयो, अहिलेसम्म केही पत्ता लागेको छैन,” उनले भनिन्।

रञ्जनाका अनुसार, प्रकाशले केही सहकर्मीलाई ‘अब ड्युटीमा आउँदिनँ’ भन्ने कुरा समेत बताएका थिए। यद्यपि, परिवारमा कुनै गम्भीर विवाद नभएको उनले स्पष्ट पारिन्। उनका बुवा दलबहादुर रसाईलीले भने सामान्य रूपमा ‘लोकसेवा आयोगको तयारीमा ध्यान दिनु’ भन्दै सुझाव दिएका थिए।

सम्पर्कविहीन हुनु अघि प्रकाशले खातामा आएको पाँच हजार रुपैयाँ लिएर भारतको रुपैडिहा बजारतर्फ सामान किन्न गएको जानकारी पनि परिवारले दिएको छ। त्यसपछि उनी घर नफर्किएको र कुनै सम्पर्कमा नआएको रञ्जनाले बताइन्।

प्रकाश र रञ्जनाबीच करिब पाँच वर्षअघि विवाह भएको थियो। अहिलेसम्म उनीहरूको वैवाहिक जीवनमा कुनै ठुलो विवाद नभएको परिवारले जनाएको छ।

प्रकाश सम्पर्कविहीन भएपछि परिवारले सुरुका तीन दिन आफन्त तथा चिनजानका व्यक्तिहरूसँग सम्पर्क गरेर खोजी गरेको थियो। कतैबाट पनि जानकारी नपाएपछि जिल्ला प्रहरी कार्यालय बाँकेमा निवेदन दिइएको थियो। तर, १४ दिन बितिसक्दा पनि उनको अवस्था पत्ता लाग्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक पातलीका अनुसार प्रकाशको खोजी कार्य जारी छ। “परिवारबाट निवेदन प्राप्त भएपछि हामीले आवश्यक खोजी तथा अनुसन्धान गरिरहेका छौं। टेक्निकल माध्यमबाट पनि पत्ता लगाउने प्रयास भइरहेको छ,” उनले बताए।

उनका अनुसार, प्रकाशले प्रयोग गर्ने मोबाइल फोनको अवस्थादेखि बैंकिङ कारोबारसम्मका गतिविधि पनि अनुसन्धानको दायरामा राखिएको छ।

परिवारले प्रकाश सकुशल फर्किने आशामा दैनिक प्रार्थना गरिरहेको जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत २८ गते शनिबार