
कोहलपुर । बाँके जिल्लाको कोहलपुर नगरपालिकामा १५ शय्याको सुविधान सम्पन्न अस्पतालमा डिजिटल एक्सरे सेवा समेत सुरु भएको छ । केन्द्रीय सरकारको नीति अनुसार १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भएको थियो हाल जेन्जी आन्दोलनपछि पूर्ण रुपमा सञ्चालनमा आएको हो ।
कोहलपुर नगरपालिका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले नगरबासीको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सेवा विस्तारतर्फ निरन्तर प्रयास भइरहेको बताए । ‘आधुनिक प्रविधिसहितको स्वास्थ्य सेवा स्थानीय तहमै उपलब्ध गराउनु नगरपालिकाको प्रमुख दायित्व हो,’ उनले भने, ‘यही लक्ष्यअनुसार कोहलपुर नगर अस्पतालबाट न्यूनतम शुल्कमा डिजिटल एक्स–रे सेवा सञ्चालनमा ल्याइएको हो ।’

विगतमा सामान्य जाँचका लागि समेत टाढाका सहर धाउनुपर्ने बाध्यता अहिले क्रमशः हट्दै गएको छ । डिजिटल एक्स–रे सेवाले रोगको छिटो पहिचान, उपचारमा सहजता र समयको बचत हुने विश्वास व्यक्त गर्दै नगर प्रमुख आचार्यले यसबाट विशेषगरी आर्थिक रूपमा कमजोर वर्गलाई ठूलो राहत पुग्ने उल्लेख गरे ।

उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै बीमित नागरिकलाई एक्स–रे सेवा निःशुल्क उपलब्ध गराउनु स्थानीय सरकारको महत्वपूर्ण उपलब्धि भएको बताए ।
यसले नागरिकमा स्वास्थ्यप्रतिको सचेतना बढाउनुका साथै अस्पतालप्रतिको विश्वास पनि अभिवृद्धि गर्ने उनको भनाइ रहेको थियो ।

कोहलपुर नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख अनिल सेन ठकुरीले निर्धक्क भएर स्वास्थ्य सेवा लिन नगरबासीहरुलाई आग्रह गरेका छन् । एक्सरेका विभिन्न सेवाहरु र अन्य विशेषज्ञ डाक्टहरुबाट सेवा प्रवाह गरिरहेको बताए ।
यस्तै नगर अस्पतालका इन्चार्ज तथा मेडिकल अधिकृत आनन्द कुमार चोरवारले सञ्चालन भएको पहिलो दिन (बुधबार) मा नै ११ जनाले सेवा लिएको बताए ।
काेहलपुर नगर अस्पतालमा PA View (३००), Single Film X-ray (५००), Double Film X-ray (७५०) एक्सरेकाे दररेट रहेकाे छ भने अन्य काेहलपुर क्षेत्र बाहिरका निजि अस्पतालहरूमा PA View (७००), Single Film X-ray (१०००), Double Film X-ray (१२००) रूपैया लिने गरेकाे पाइएकाे छ ।
सच्याइएकाे : डिजिटल एक्सरे हुनुपर्नेमा अन्यथा भएकाेले सच्याइएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्