
बुटवल । रुपन्देहीमा प्रहरीको गोली लागेर रोहिणी गाउँपालिका-२ खुरहुरियाका विशाल यादव घाइते भएका छन् । रोहिणी गाउँपालिका ४ कोटहवामा लागुऔषध ओसारपसारको सूचनाको आधारमा तीन जना सवार यूपी ५६ एफ ९९०१ नम्बरको मोटरसाइकल रोकेर चेकजाँच गर्न खोज्दा भाग्ने क्रममा प्रहरीले गोली चलाएपछि घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी कृष्णकुमार चन्दका अनुसार नियन्त्रणमा लिने क्रममा ढुंगा प्रहार भएपछि एक राउण्ड हवाई फायरसहित दुई राउण्ड गोली प्रहार गरी लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको बताए ।
प्रहरीले गोली प्रहार गरेर लागुऔषधसहित विशाल यादव, भारतको महाराजगञ्ज, पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र सोही स्थानका २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरेको छ । वाँया खुट्टाको पिडुलामा गोली लागेर घाइते भएका यादवको भीम अस्पताल भैरहवामा उपचार भइरहेको छ ।
पक्राउ परेकाहरुले प्रयोग गरेको मोटरसाइकल जाँच गर्दा लागुऔषध फेनरागन ११०० एम्पुल, डाइजेपाम ११०० एम्पुल र ब्रुफिन ११०० एम्पुल बरामद भएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्