मध्यपश्चिम विश्वविद्यालयमा शैक्षिक पात्रो २०८३ को मस्यौदा र आसन्न अन्तर्राष्ट्रिय सम्मेलन प्रगतिबारे छलफल बैठक सम्पन्न




शेर बहादुर केसि, सुर्खेत मध्यपश्चिम  विश्वविद्यालय ।

मध्यपश्चिम विश्वविद्यालय शैक्षिक पात्रो २०८३ को मस्यौदा र आसन्न अन्तर्राष्ट्रिय सम्मेलन प्रगतिबारे छलफल बैठक सम्पन्न भएको छ । मध्यपश्चिम विश्वविद्यालयमा शैक्षिक पात्रो २०८३ को मस्यौदामाथि छलफल तथा आसन्न अन्तर्राष्ट्रिय सम्मेलन, २०२६ को कार्यप्रगति बारे समीक्षात्मक बैठक चैत्र १५ गते सम्पन्न भएको छ ।


मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमको अध्यक्षतामा वीरेन्द्रनगर सुर्खेत स्थित केन्द्रीय कार्यालयमा बसेको बैठकले विश्वविद्यालयको समग्र शैक्षिक प्रशासनिक क्रियाकलापलाई दिशाबोध गर्नेगरी सरोकारवाला बीच छलफल गरेको हो ।
बैठकलाई सम्बोधन गर्दै उपकुलपति प्रा. डा.गौतमले विश्वविद्यालयका कार्यक्रमहरू परिणाममुखी र समयानुकूल हुनुपर्नेमा जोडदिँदै अब हाम्रोध्यान नतिजामुखी कार्यान्वयन, अनुसन्धानको प्रवर्द्धन र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बन्नेतर्फ अग्रसर बन्नुपर्ने बताए । उपकुलपति गौतमले शैक्षिक पात्रोको मस्यौदामा हेरफेर गर्नुपर्ने विषयवस्तु उपर मूर्त रुपमा पृष्ठपोषण प्रदान गरे ।
उनले आसन्न अन्तर्राष्ट्रिय सम्मेलनलाई विश्वव्यापी नेटवर्क स्थापितगर्ने अवसरसँगै हाम्रो विश्वविद्यालयको प्रतिष्ठासँग जोडिएको विषय भएकाले सबैलाई आ- आफ्नो ठाउँबाट जिम्मेवार ढंगले तयारीमा जुट्न निर्देशन दिए । सो अवसरमा उपकुलपति गौतमले कोटा निर्धारण गरिएका निश्चित कार्यक्रम बाहेक अन्यमा प्रवेश परीक्षाको नाममा भर्ना प्रक्रियामा भैरहेको अनावश्यक झन्झटको अन्त्य गरिने उद्घोष गरे ।

उनले पदमा आसीन मात्रनभै विश्वविद्यालयको स्थायित्व एवम् दीगोपनाका लागि सबैगम्भीर बन्न सचेत गराए  । उनले विद्यार्थी भर्नादेखि प्रभावकारी कक्षा सन्चालनसम्मको दायित्व बहनगर्न डीनहरुलाई निर्देश दिए । बैठकमा रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले विश्वविद्यालयको समग्र शैक्षिक प्रशासनिक पक्षलाई अँझ व्यवस्थित बनाउँदै हाम्रो भविष्यसँग जोडिएको विश्वविद्यालय निर्माणमा दत्तचित्त भएर लाग्न सम्बन्धित सबैलाई आग्रह गरे ।

परीक्षा व्यवस्थापन प्रमुख सहप्रा. डा. अर्जुनबहादुर अयडीले प्रस्तुत गर्नुभएको मस्यौदामाथि सहभागीहरूले शैक्षिक पात्रोलाई अन्तिम रुप दिनका लागि महत्वपूर्ण सुझाव पेशगरे ।
अन्तराष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक एवम् सम्मेलन व्यवस्थापन समितिका संयोजक डा. यदुप्रसाद ज्ञवालीले आसन्न सम्मेलनको तयारी सम्बन्धी भएको कार्यप्रगति बारे प्रस्तुतीकरण गरेका थिए भने उक्तकार्यक्रमको संयोजन एवम् सहजीकरण योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्काले गरेका ।

बैठकमा विभिन्न ग्र्याजुएट स्कूलका डीन, परीक्षा व्यवस्थापन प्रमुख, कार्यकारी निर्देशक, विभागीय तथा क्याम्पस प्रमुख लगायत भौतिक एवम् भर्चुअल रुपमा उपलब्ध प्राध्यापक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत १६ गते सोमबार