नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव फेला




नेपालगन्जमा जलेको अवस्थामा महिलाको शव फेला परेको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ स्थित संजिवनी अस्पताल(नर्सिङ होम) पछाडि जलेको अवस्थामा एक महिलाको शव फेला परेको हो।

शनिबार मध्यरातमा महिलाको शरीरमा आगो लागेको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

राती करिब साढे ११ बजेतिर महिलाको शरीरमा आगो लागेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख (एसपी) अंगुर जिसीले बताए। मृतक महिलाको नाम, ठेगाना खुल्न सकेको छैन। उनी करिब २५ देखी ३० वर्षको जस्तो देखिन्छिन्। उनी भाडामा बस्ने हुन सक्ने अनुमान गरिएको छ।

‘राती ११ बजेर ४२ मिनेटमा मलाई जानकारी आएको थियो, यो हिसाबले घटना साढे ११ बजेतिर भएको हुनुपर्छ,’जिसीले नागरिकसँग भने, ‘घटनास्थलमा प्रहरी पुग्दा महिला जलिसकेकी थिइन्, घटनास्थल वरिपरिका व्यक्तिलाई सोधपुछ गर्दा महिला जलिरहँदा एक्लै थिइन्।’

तर, स्थानीय बासिन्दाले भने कसैले महिलामाथि आगो लगाएर भागेको हुन सक्ने आशंका गरेका छन् ‘घटना रहस्यमय छ, यसको अनुसन्धान प्रहरीले सूक्ष्म रूपले गर्नुपर्छ,’ स्थानीय भन्छन्।

घटनास्थलमा आगो लगाउन प्रयोग भएको ‘सलाई’ पनि फेला पारेको एसपी जिसीले बताए । मृतक महिलाको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ चैत १५ गते आइतबार