शेरबहादुर केसी, सुर्खेत ।
धनगढी (कैलाली) चैत मध्यपश्चिम विश्वविद्यालयसँगै स्थापना भएको सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस कैलाली बहुमुखी क्याम्पस, धनगढीमा शुक्रवारदेखि दीगो विकासका लागि रैथाने ज्ञान, उद्यम एवम् नवप्रवर्तन भन्ने मूल नाराका साथ बहुविषयक तेस्रो राष्ट्रिय सम्मेलन शुभारम्भ भएको छ । दुई दिनसम्म सञ्चालन हुने उक्त प्राज्ञिक सम्मेलनले स्वदेशी ज्ञान, उद्यमशीलता र नवप्रवर्तन मार्फत दीगो विकासको मार्ग पहिल्याई समाजमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।

कैलाली बहुमुखी क्याम्पस अनुसन्धान व्यवस्थापन इकाइद्वारा आयोजित सम्मेलनमा देशभरका प्राध्यापक, अनुसन्धानकर्ता तथा सरोकारवालाहरूको उत्साहजनक सहभागिता रहेको छ । एक औपचारिक कार्यक्रमका बीच सम्मेलन उद्घघाटन गर्दै विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा. डा. देवराज अधिकारीले रैथाने ज्ञान, सीपको संबर्द्धन गर्ने काम विश्वविद्यालयको भएको बताए । अध्यक्ष प्रा. डा. अधिकारीले कागजी अनुसन्धान नभै समाजलाई जीवन दिने अनुसन्धान अपरिहार्य भएको धारणा राख्दै राज्यको नीति निर्माणमा उपयोगी हुने गरी अनुसन्धान गर्नुपर्ने अभिभारा प्राज्ञहरुको काँधमा आएको बताए।
सम्मेलनमा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त, शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशी, सुदूरपश्चिम विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा. डा. पदमराज जोशी, सो विश्वविद्यालय अन्तर्गतका अनुसन्धान निर्देशनालयका निर्देशक डा. दमनबहादुर चलाउने, प्राध्यापक संघका सभापति डा. राजेन्द्रवीर चन्द र स्ववियु सभापति सन्तोष पन्तले शिक्षण अनुसन्धानमुखी हुनुपर्नेमा जोडदिंदै सम्मेलन सफलताको शुभकामना व्यक्त गरे ।

कैलाली बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. लोकबहादुर विष्टको अध्यक्षतामा सम्पन्न सम्मेलन उद्घाटन समारोहमा स्वागत मन्तव्य आरएमसी अध्यक्ष समेत रहेका सहायक क्याम्पस प्रमुख डा. मोहनसिं सावद र सञ्चालन डा. शिवप्रसाद सापकोटाले गरेका थिए ।
सम्मेलनको अर्को महत्वपूर्ण सत्र सामाजिक पहिचान र दीगोपनका लागि स्वदेशी ज्ञानको हस्तान्तरण विषयक प्यानल छलफलमा मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा. विष्णुकुमार खड्का सहित वक्ताहरु सहप्रा. डा. नाथुराम चौधरी, डा. खिमराज सुवेदी र डा. नानीबाबु घिमिरेले स्थानीय भाषा, संस्कृति एवम् ज्ञान, सीप र परम्परागत अभ्यासलाई आधुनिक अनुसन्धानसँग जोड्दै विकासका नयाँ आयामहरू खोज्नुपर्नेमा जोड दिए। जसको सहजीकरण डा. ज्ञानुराज पौडेलले गरेका थिए ।

यसैबीच सम्मेलनका सबै सहभागीहरु माझ त्रिभुवन विश्वविद्यालयका प्रा. डा. राजु खनाल र प्रा. डा. हेमराज पन्तले मुख्य वक्ताको रुपमा तथा डा. मोहनसिंह साउद र डा. रघुनाथ नेपालले आ-आफ्नो अनुसन्धानको आधारमा सम्बोधन गरेका थिए ।
शनिवारको पहिलो सत्रमा मध्यपश्चिम विश्वविद्यालय अन्तरराष्ट्रिय सम्बन्ध निर्देशनालायका कार्यकारी निर्देशक डा. यदुप्रसाद ज्ञवालीले रूपान्तरणकारी व्यावसायिक विकासका लागि कृत्रिम बुद्धिमत्ता विषयमा वक्ताका रुपमा उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ ।
सम्मेलनको समानान्तर सत्रमा विभिन्न विषयगत सत्रहरू सञ्चालन गरिएका छन् । अंग्रेजी भाषा र साहित्य, व्यवस्थापन, स्वास्थ्य, जनसंख्या, अर्थशास्त्र, शिक्षा र पाठ्यक्रम, विज्ञान, कृषि तथा गणित र नेपाली लगायतका विषयगत अनुसन्धान पत्र प्रस्तुतिसँगै छलफलमा छुट्टाछुट्टै व्यक्तिहरुले अध्यक्षता एवम् सहजकर्ताको भूमिका निर्वाह गर्नुका साथै विभिन्न विषय र क्षेत्रका तीनदर्जन अनुसन्धानकर्ताहरुले अनुसन्धान प्रस्तुति गरेको बताइएको छ ।
सहभागीहरूले आफ्नो अनुसन्धान अनुभव आदानप्रदान गर्दै सहकार्यका सम्भावनाहरू बारे मन्थन गरेका छन् । सम्मेलनले रैथाने ज्ञान प्रणालीलाई संस्थागत गर्दै दीगो विकासका लागि नीतिगत तथा व्यवहारिक आधार तयार गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास आयोजकले गरेको छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्