सुदाम शर्मा, सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयमा कार्यरत कर्मचारीका लागि पाँच दिने क्षमता विकास तालिम शुभारम्भ भएको छ । विश्वविद्यालयद्वारा सहायक स्तरका कर्मचारीहरूलाई लक्षित गरी पाँच दिने क्षमता विकास तालिम वुधवार वीरेन्द्रनगर, सुर्खेतमा औपचारिक रूपमा शुभारम्भ गरिएको हो ।
मध्यपश्चिम विश्वविद्यालय तालिम इकाइ (मुटु) को आयोजना र विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा विभिन्न केन्द्रीय निकाय तथा आङ्गिक क्याम्पसमा कार्यरत २६ जना कर्मचारीहरूको सक्रिय सहभागितामा तालिम शुभारम्भ गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. शोभाखर कँडेलले तालिम उद्घाटन गर्दै कर्मचारीहरूको क्षमता विकास विश्वविद्यालयको समग्र प्रगतिका लागि महत्वपूर्ण रहेको उल्लेख गरे । उनले प्रशासनिक दक्षता, सेवा प्रवाहको गुणस्तर र जिम्मेवारीबोध अभिवृद्धि गर्न यस्ता तालिमहरूले टेवा पुर्याउने विश्वास व्यक्त गरे ।
रजिष्ट्रार प्रा. डा. कँडेलले प्रभावकारी सिकाइका लागि सहभागीहरूलाई सक्रिय सहभागी बन्न र व्यवहारमा रूपान्तरण गर्न निर्देशन दिए । उनले व्यावसायिकता र अनुशासनलाई आत्मसात् गर्नुपर्नेमा जोड दिंदै त्रिवि सम्बन्धन प्राप्त क्याम्पसको हैसियतमा विश्वविद्यालय भन्दा जेठा हाल समायोजन भएका आङ्गिक क्याम्पसमा कार्यरत जनशक्तिको ज्ञान, सीप र अनुभवलाई समेत जोडेर विश्वविद्यालयलाई गति प्रदान गरिने बताए । आजै मात्र मित्रराष्ट्र भारतका विभिन्न विश्वविद्यालयहरुको भ्रमण सकेर स्वदेश फर्कनुभएका रजिष्ट्रार कँडेलले आगामी दिनमा कर्मचारीहरुलाई आवश्यक सिकाइका लागि अध्ययन भ्रमणमा पठाइने उद्द्घोष गरे ।
सो कार्यक्रममा सम्पूर्ण सहभागीहरुको तर्फबाट जलजला बहुमुखी क्याम्पस रोल्पाका पृथ्वी डाँगीले तालिमबाट गरेको अपेक्षासँगै शुभकामना मन्तव्य व्यक्त गरे ।

उक्त अवसरमा उपकुलपति प्रा. डा. ध्रुवकुमार गौतमले तालिम सफलताको लागि शुभकामना सन्देश पठाउएका थिए । आयोजक तालिम इकाइ (मुटु) का संयोजक उपप्रा. कल्पना पौडेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सदस्य उपप्रा. कमला कुमारी तिवारीले गरेकी हुन।
तालिमको पहिलो दिन मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन प्रमुख समेत रहनुभएका अन्तरराष्ट्रिय सम्बन्ध र कूटनीतिक मामिलाका जानकार सहप्रा. डा. अर्जुनबहादुर अयडी, प्रशासन अधिकृत सैलेन्द्र पाठक र विश्वविद्यालयका सूचना अधिकारी शेरबहादुर केसीले छुट्टाछुट्टै विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका थिए ।
उद्घाटन कार्यक्रममा विभिन्न ग्र्याजुएट स्कूलका डीन प्रा. डा. विनोद वश्याल, प्रा. चन्देश्वर प्रसाद श्रीवास्तव, सहप्रा. डा. राजन सुवाल, सहप्रा. डा. पूर्णमान श्रेष्ठ, सहप्रा. डा. दिपकराज अधिकारी तथा कार्यकारी निर्देशकहरु डा. विष्णुकुमार खड्का, डा. लक्ष्मीप्रसाद आचार्य, डा. यदुप्रसाद ज्ञवाली र डा. पुष्पराज आचार्य लगायतको उपस्थिति रहेको थियो।

तालिम अवधिभर विभिन्न विषयमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिने आयोजकले जनाएको छ । तालिमले सहभागी कर्मचारीहरूको कार्यसम्पादन क्षमतामा सुधार ल्याई विश्वविद्यालयको सेवा प्रवाह प्रणालीलाई अँझ प्रभावकारी बनाउन सहयोग पुर्याउने अपेक्षा गरिएको विश्वविद्यालयका प्रशासन अधिकृत शेर बहादुर केसिले कोहलपुर टुडे लाई जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्