
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा सञ्चालन गरिएको ७५ दिने एडभान्स सिलाई–कटाई तालिम आइतबार औपचारिक रूपमा समापन गरिएकाे छ । पर्यटन डिभिजन कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरी को प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा बोल्दै चौधरीले सीपमूलक तालिमलाई केवल सरकारी सुविधा ठानेर बेवास्ता गर्ने प्रवृत्तिमाथि कडा टिप्पणी गरे । उनले भने, “सरकारले दिएको भनेर मात्र बुझ्ने मानसिकता त्याग्नुपर्छ, यसलाई आफ्नो लगानीको रूपमा ग्रहण गरेर परिणाममुखी काम गर्न नसके यस्ता तालिमको कुनै अर्थ रहँदैन।” उनले सीप, इच्छाशक्ति र निरन्तर अभ्यासलाई सफलता प्राप्त गर्ने मुख्य आधारका रूपमा प्रस्तुत गर्दै सहभागीहरूलाई व्यवहारमा सीप उतार्न आग्रह गरे ।
७५ दिनसम्म सञ्चालन गरिएको तालिममा २४ जना सहभागी थिए । उनीहरूले एडभान्स स्तरको सिलाई–कटाई सीप हासिल गरे पनि त्यसलाई व्यावसायिक रूपमा रूपान्तरण गर्ने चुनौती भने अझै कायम रहेको चाैधरीले बताए । स्थानीय तहमा सीप सिकेर पनि बेरोजगारी कायम रहनु र तालिमपछि व्यवसाय सञ्चालन नगर्ने प्रवृत्तिले यस्ता कार्यक्रमको प्रभावकारितामाथि प्रश्न उठाउने गरेको त्यसैले यहाँहरूले व्यवसायमा लाग्न चाैधरीले अनुराेध गरेका थिए ।

कोहलपुर नगरपालिकाको आर्थिक विकास शाखाका प्रमुख वीरबहादुर विश्वकर्माले यस्ता तालिमले दक्ष जनशक्ति उत्पादनमा योगदान पुर्याए पनि त्यसको दिगोपनामा ध्यान दिन आवश्यक रहेको बताए । “तालिमपछि अनुगमन र सहजीकरण नहुँदा धेरै सहभागी सीप प्रयोग नगरी बस्ने अवस्था देखिन्छ, अब यसतर्फ ध्यान दिनुपर्छ” उनले भने।
त्यस्तै, पर्यटन डिभिजन कार्यालयका प्रमुख मुक्ति प्रसाद पाण्डेले प्रविधि हस्तान्तरणमार्फत आत्मनिर्भरता अभिवृद्धि गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको बताए । उनका अनुसार १६ लाख रुपैयाँको बजेटमा सञ्चालन गरिएको तालिमले स्थानीय स्तरमै उद्यमशीलता विकास गर्ने अपेक्षा सहित याे कार्यक्रम गरिएकाे हाे ।
मनकामना सिलाईकटाई ट्रेनिङ सेन्टरकी सञ्चालक तथा प्रमुख प्रशिक्षक पवित्रा विकले प्रशिक्षण दिएकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्