नरैनापुरमा मतदाता उत्साहित, गौडेलप्रति बढ्दो भरोसा




बाँके  । नेपाली काँग्रेस बाँके क्षेत्र नं.१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले नरैनापुर गाउँपालिकाका सबै वडाको घरदैलो पूरा गरेका छन् ।

सबै वडाका अधिकांश वस्तीहरु पुगेका गौडेलप्रति मतदाताहरुले उत्साहित प्रतिक्रिया दिएका छन् । सादगी, इमान्दार र भुइँमान्छेको रुपमा पहिचान गराएका गौडेलप्रति मतदाताहरु अत्यन्तै सकारात्मक देखिएका छन् ।

क्षेत्रीय सभापति पोषण केसीका अनुसार नरैनापुरमा काँग्रेसप्रतिको उत्साह बढेको छ । ‘करिव एक दशकपछि यहाँका मतदाताहरुले आफ्नै रुख चिन्हमा मत हाल्दैछन् केसी भन्छन्–‘बदलिएको काँग्रेसप्रतिको भरोसाले पनि मतदाताहरुलाई उत्साहित गराएको छ ।’

नरैनापुर गाउँपालिकामा ६ वटा वडा छन् । पूर्वाधारका हिसावले नरैनापुर सुधार हुँदै गएको छ । शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवाको पहुँच पनि तुलनात्मक रुपमा सुधार भएको छ ।

‘पूर्वाधारदेखि शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा मानिसहरुको पहुँच पुग्दै गएको छ तर गुणस्तरीयताको पहुँच अझै पुग्न सकिरहेको छैन केसीले भने–‘यी सबै समस्यालाई काँग्रेसले नीति बनाएर सम्वोधन गर्छ ।

त्यो भरोसा हामीले नरैनापुरबासीलाई गराएका छौं । मतदाताहरुले यो पटक काँग्रेसलाई जिताउनु पर्छ भन्नुभएको छ ।’ काँग्रेस बाँकेका सभापति समेत रहेका उम्मेदवार गौडेलले नरैनापुर क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि लगायतका सवालमा आफु उम्मेदवार नहुँदा पनि पार्टीले एजेण्डा बनाएर काम गरेको बताए ।

‘अहिले पो म उम्मेदवार भएर आएको हुँ गौडेल भन्छन्–‘पार्टी सभापतिको हैसियतले थुप्रै पटक नरैनापुरको किसानका समस्या बोकेर सम्वन्धित ठाउँमा पुगेको छु ।’ गौडेलले नरैनापुरको समग्र समस्या समाधान गर्न नीतिगत सुधार जरुरी रहेको बताउँछन् । नरैनापुरबासीले भोग्दै आएका ती समस्या संसदमा मुद्दा बनाउनका निमित्त आफुलाई मतदान गर्न आग्रह गरेका छन् ।

गौडेलले नरैनापुर गाउँपालिकामा मालपोत कार्यालय र छोटी भन्सार कार्यालउ स्थापनाका लागि नेतृत्वदायी भूमिका खेल्ने प्रतिवद्धता पनि जनाएका छन् ।

नरैनापुर गाउँपालिकाका वडा कार्यसमितिहरुको अगुवाईमा भएको घरदैलोमा समानुपातिक उम्मेदवार दीप नारायण वर्मा, काँग्रेसका लुम्विनी प्रदेश सदस्य इशाक जोलाह, क्षेत्रीय सभापति पोषण केसी, निवर्तमान सभापति माधवराम खत्री, पूर्व सभापति कृष्ण पौडेल, अग्रज नेताहरु ज्ञानु केसी, हुर्मत न्यौपाने, पार्टीका जिल्ला तहका नेताहरु, स्थानीय नेता तथा कार्यकर्ताहरुको उल्लासपूर्ण सहभागिता रहेको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन १६ गते शनिबार