कोहलपुरका बस्तीमा काँग्रेस उम्मेदवारको घरदैलो




काेहलपुर ।  नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारनारायण प्रसाद गौडेलले कोहलपुर नगरपालिकाका विभिन्न बस्तीमा घरदैलो तथा भेटघाट कार्यक्रम गरेका छन्। शुक्रबार वडा नं. १ को कौशल्यानगर र वडा नं. २ का पुष्पनगर तथा विकासनगर क्षेत्रमा पुगेर उनले स्थानीयसँग प्रत्यक्ष संवाद गरे।

घरदैलोका क्रममा स्थानीय बासिन्दाले लामो समयदेखि लालपूर्जा नपाएको, भूमिहीन र असुरक्षित बसोबासको समस्या तथा बाटोघाटो लगायत आधारभूत पूर्वाधार अभावबारे गुनासो गरेका थिए। उनीहरूले भूमिहीन समस्या समाधानमा ठोस पहल गर्न आग्रह गरे।

उम्मेदवार गौडेलले आफू यी समस्याप्रति जानकार रहेको उल्लेख गर्दै समाधानका लागि निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जेन्जी आन्दोलनपछिको सरकार गठनसँगै भूमिहीन समस्या समाधानका लागि गठन गरिएको आयोग विघटन हुँदा प्रक्रिया अवरुद्ध भएको दाबी गरे। “स्थानीय सरकारको समन्वयमा लालपूर्जा वितरणको काम अघि बढिरहेको थियो, तर सरकार परिवर्तनसँगै काम रोकियो,” उनले भने। काँग्रेस नेतृत्वको सरकार बनेमा भूमिहीनलाई लालपूर्जा दिलाउने विषयमा सक्रिय भूमिका खेल्ने उनको भनाइ छ। घरदैलोका क्रममा स्थानीयले जनस्तरमा लामो समयदेखि सेवा गर्दै आएकाले गौडेलप्रति विश्वास रहेको बताएका थिए।

यसैबीच, नेपाल दलित संघ बाँके क्षेत्रीय कार्यसमितिले कोहलपुरमा उम्मेदवारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। कार्यक्रममा प्रतिनिधिसभा उम्मेदवार गौडेल तथा समानुपातिक उम्मेदवार दीपनारायण वर्मा सहभागी भएका थिए। संघका अध्यक्ष कृष्ण बहादुर विकले दलित समुदायका मुद्दामा काँग्रेसले निरन्तर साथ दिएको उल्लेख गर्दै आगामी निर्वाचनमा पार्टी उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरे।

अन्तरक्रियामा शिक्षा, रोजगारी, सामाजिक न्याय र भूमिहीनताको विषय उठाइएको थियो। उम्मेदवार गौडेलले ती मुद्दामा नीतिगत पहल गर्ने प्रतिबद्धता जनाएका छन्।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ फागुन २ गते शनिबार