राप्तीसोनारी पर्यापर्यटन र धार्मिक पर्यटनको दृष्टिले सम्भावनायुक्त पालिका : उम्मेदवार गौडेल




काेहलपुर । नेपाली काँग्रेस बाँके क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार नारायण प्रसाद गौडेलले राप्तीसोनारी गाउँपालिका पर्यापर्यटन तथा धार्मिक पर्यटनका हिसाबले अत्यन्त सम्भावनायुक्त क्षेत्र रहेको बताएका छन्।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा शुक्रबार राप्तीसोनारी गाउँपालिका वडा नं. ३, नारायणपुरमा नेपाली काँग्रेसको प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै गौडेलले बाँके राष्ट्रिय निकुञ्ज, राप्ती नदी, बरफानी बाबा र भुवर भवानी मन्दिरका कारण राप्तीसोनारी लुम्बिनी प्रदेशकै महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्ने उल्लेख गरे।

काँग्रेस बाँकेका सभापति समेत रहेका गौडेलले राप्तीसोनारी कृषि र पशुपालनका दृष्टिले उर्वर भूमि भएको बताउँदै यसको वैज्ञानिक व्यवस्थापन र विस्तारमार्फत स्थानीय रोजगारी सिर्जना गर्न आफू नेतृत्वदायी भूमिका खेल्ने प्रतिबद्धता जनाए। “यहाँको सम्भावना र समस्याबारे म पूर्ण रूपमा जानकार छु,” उनले भने, “चुनावमा बोलेर मात्र नबस्ने, काम गरेर देखाउने नेतृत्व आवश्यक छ।”

कार्यक्रममा समानुपातिक उम्मेदवार दीप नारायण वर्माले नेपाली काँग्रेस समस्या देखाउने मात्र नभई समाधान गर्ने पार्टी भएको बताए। काँग्रेस बाँकेका पूर्व उपसभापति लाहुराम थारुले आदिवासी जनजातिका अधिकार र मुद्दा काँग्रेसकै पहलमा अघि बढेको उल्लेख गर्दै विकासप्रेमी शक्तिविरुद्ध नलाग्न कार्यकर्तालाई आग्रह गरे।

शुक्रबार नै राप्तीसोनारी गाउँपालिका वडा नं. ४ र ५ मा पनि प्रचार–प्रसार कार्यालय स्थापना गरिएको छ। वडा नं. ४ मा वडा सभापति कान्छा थारुको सभापतित्वमा बैजापुर चोकमा तथा वडा नं. ५ मा वडा सभापति बालकृष्ण थारुको सभापतित्वमा बिनौना मन्दिर, पिपल चौतारामा कार्यालय उद्घाटन गरिएको पार्टीका प्रवक्ता डिल्ली गिरीले जानकारी दिए।

उद्घाटन कार्यक्रममा काँग्रेस लुम्बिनी प्रदेश सदस्य अञ्जना पाण्डे, क्षेत्रीय सभापति पोषण केसी, महाधिवेशन प्रतिनिधि संगिता चौधरी, अमर बहादुर बुढाथोकी, लक्ष्मण थारु लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यसै क्रममा एमालेका स्थानीय नेता धर्मराज पुनसहितका कार्यकर्ताहरू नेपाली काँग्रेसमा प्रवेश गरेको जनाइएको छ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८२ माघ २३ गते शुक्रबार